चौधरी ग्रुपले नुडल्स बारको अवधारणासहित नेपालमा पहिलो पटक ‘वाइवाई सिटी’ सञ्चालनमा ल्याएको छ । ग्रुपअन्तर्गतको सीजी रिटेल प्रालिले ललितपुरको पुल्चोकस्थित लबिम मलमा क्विक सर्भिस रेस्टुरेन्ट (क्यूएसआर) का रुपमा ‘वाइवाई सिटी’को आउटलेट सञ्चालनमा ल्याएको हो । ग्रुपका प्रबन्ध निर्देशक निर्वाणकुमार चौधरीले उक्त आउटलेटको उद्घाटन गरेका छन् । दशकौंदेखि हरेक उमेर समूहमा लोकप्रिय रहेको वाइवाई चाउचाउलाई नवीनतम ढङ्गमा ग्राहकमाझ पस्कन ‘वाइवाई सिटी’को परिकल्पना ल्याइएको प्रबन्ध निर्देशक चौधरीले बताए । नेपाल मात्र नभएर विदेशमा समेत सर्वाधिक रुचाइएको वाइवाई चाउचाउलाई विभिन्न स्वाद तथा आकर्षक ढङ्गले पस्किन ‘वाइवाई सिटी’ सफल हुने उनको विश्वास छ ।
ग्रुपका कार्यकारी निर्देशक तथा सीजी रिटेल प्रालिका प्रमुख कार्यकारी अधिकृत वरुण चौधरीले नवीनतम स्वाद, चुस्त सेवा र उपयुक्त वातावरणका कारण ‘वाइवाई सिटी’ छोटो समयमै साथीभाइ र पारिवारिक जमघटको पहिलो रोजाइ हुनेमा आफू ढुक्क रहेको बताए । भारत र नेपालमा गरी ‘वाइवाई सिटी’ का १४ ओटा आउटलेट छन् । भारतको दिल्ली, सिलिगडी, चण्डीगढ, हैदरावाद, कोलकाता, चेन्नई, पुणेलगायत सहरमा सञ्चालित ‘वाइवाई सिटी’ निकट भविष्यमै नेपालको इटहरी, धरान, भरतपुर, पोखरा, विराटनगर, बिर्तामोड तथा भारतको आग्रा, लखनऊ, मुम्बई, देहरादुनलगायतका सहरमा सञ्चालनमा ल्याउने योजना छ । यसबाहेक आगामी पाँच वर्षमा अमेरिका, बेलायत, अस्ट्रेलिया, जर्मनी, मलेसिया तथा मध्यपूर्वी देशमा एक हजार पाँच सय ‘वाइवाई सिटी’ सञ्चालनमा ल्याउने योजना रहेको कम्पनीको भनाइ छ ।
‘वाइवाई सिटी’मा क्लासिक, चप्सी, रोस्टेड र प्यान फ्राइड गरी चार थरी चाउचाउका साथ सोय गार्लिक, कुङपाउ, मसाला फ्युजन, हट गार्लिक, पेपर सोया, स्पाइसी तेरियाकी, सेज्वान चिली गरी सातवटा स्वादमा सस, अठार थरी ताजा सागसब्जी, १० थरी टपिङ तथा पाँच थरी एड अन बाट छनोट गरी आफूले रुचाएको स्वादमा आफ्नै आँखाअघि बनाएका परिकारको स्वाद चाख्न पाइने कम्पनीले जानकारी दिएको छ ।