मापसे गर्नेले तिरे ३१ करोड ३१ लाख जरिवाना, ३ लाख १३ हजार परे कारवाहीमा

७० मा ५४ हजार ५३५ जना चालक कारवाहीमा परे । ट्राफिक प्रहरीले मापसे अभियानलाई निकै कडाईका साथ अघि बढाएपछि पछिल्ला वर्षहरुमा भने त्यो सङ्ख्या घट्यो ।

काठमाडौं । मादक पदार्थ सेवन (मापसे) गरेकै कारण सवारी दुर्घटना बढेको भेटिएपछि ट्राफिक प्रहरीले २०६९ असोज १५ गतेबाट मदिरा सेवन गरी सवारी साधन चलाउन नपाउने नियम कडाइका साथ लागू गर्यो ।

हुनत, नियमानुसार मदिरा सेवन गरी गाडी चलाउन पहिला पनि मिल्थेन, तर पनि ट्राफिक प्रहरीको ध्यान त्यता गएको थिएन ।
दिनदिनै सवारी दुर्घटनाका घटना बढ्न थालेपछि प्रमुख कारक मापसे नै ठहर भएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले मापसे अभियानलाई कडाइका साथ अघि बढायो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाकाअनुसार अभियान संचालन गरेयता ३ लाख १३ हजार सवारी चालक मापसे कारवाहीमा परेका छन् । ट्राफिक प्रहरीले उनीहरुबाट ३१ करोड ३१ लाख रुपैयाँ जरिवाना रकम असुली गरेको छ । महाशाखाको तथ्याङ्कअनुसार मापसे अभियान संचालन गरेको वर्ष २०६८ साल असोजदेखि चैतसम्म ३९ हजार ६६७ जना चालक कारवाहीमा परेका थिए ।

त्यसैगरी २०६९ सालमा मापसे कारवाहीको सङ्ख्या ह्वात्तै बढ्यो । त्यो वर्ष मापसे कारवाहीमा पर्नेका सङ्ख्या ५२ हजार २८० पुग्यो ।
त्यसैगरी २०७० सालमा ६९ सालको भन्दा बढी सङ्ख्या मापसे कारवाहीमा पर्यो । ७० मा ५४ हजार ५३५ जना चालक कारवाहीमा परे । ट्राफिक प्रहरीले मापसे अभियानलाई निकै कडाइका साथ अघि बढाएपछि पछिल्ला वर्षहरुमा भने त्यो सङ्ख्या घट्यो ।

२०७१ सालमा आएर मापसे गर्नेको सङ्ख्या ३६ हजार ६५ पुग्यो । त्यसैगरी २०७२ मा घटेर २९ हजार २२२ झर्यो । २०७३ मा २८ हजार ८९६ चालक कारवाहीमा परे ।त्यस्तै २०७४ मा ३२ हजार २९२ जना चालक मापसेमा परे । भने गएको साउनयता फागुनसम्म २१ हजार २२९ जना सवारी चालक मापसे कारवाहीमा परेका छन् । मापसे अभियान सुरुका दिनमा कारवाहीमा परेकाहरुलाई २ हजार रुपैयाँ जरिवाना लिएर छाडिने गरिएको थियो ।

त्यसो गर्दा मापसे गरेर सवारी चलाउने घटेनन् । त्यसपछि ६९ साल मंसिरबाट मापसे गरेर सवारी चलाउनेलाई एक हजार जरिवानाका साथै एक घण्टाको चेतना कक्षा अनिवार्य गरियो । सुरुका दिनमा केही सुधार नआएपनि चेतना कक्षामा आफैँ उपस्थित हुनुपर्ने र समय पनि त्यति नै मात्रामा खर्चिने भएपछि मापसे गरेर सवारी चलाउनेहरु हच्कन थाले ।

त्यसपछिका दिनमा मापसे गरेर सवारी चलाउनेको सङ्ख्यामा कमी आउन थाल्यो । सङ्ख्यामा कमी आएपनि मापसे गर्नेहरुको सङ्ख्या शुन्य भने हुन सकेको छैन ।

महानगरीय ट्राफिक प्रमुख एसएसपी बसन्त पन्तले भने, ‘ट्राफिक प्रहरीले सुरु गरेको मापसे अभियान नमुनाका रुपमा स्थापित भयो, मापसे बाहेकका अभियान त्यती सफल भएन होलान्, तर मापसे अभियानले यस्तो सुधार ल्यायो, मान्छेहरुमा मदिरा सेवन गरेर सवारी चलाउन हुदैन भन्ने चेतना पलायो।’

एसएपी पन्त भन्छन्, ‘सुरुका दिनमा मापसे गरेर सवारी चलाउनेलाई एक हजार जरिबाना मात्र हुने गरेको थियो, मापसे गर्ने अर्के, रकम तिरेर सवारी अनुमतिपत्र (लाइसेन्स) ल्याइदिने अरुनै हुन्थे, जब ट्राफिक प्रहरीले सम्बन्धित ब्याक्तिलाई उपस्थित र चेतना कक्षा लिन थाल्यो त्यसपछि केही सुधार आयो ।’

चेतना कक्षा र एक हजार जरिवानाले केही सुधार ल्याएपछि उल्लेखीय परिणाम नदेखिएपछि महाशाखाले मापसे गरेर कारवाही परेका लाइसेन्समा प्वाल पार्न थाल्यो । त्यसपछि भने झनै सुधार आयो ।

डाक्टरदेखि मिडिया मालिकसम्म मापसेमा परे, पत्रकारको जागिर गयो

ट्राफिक प्रहरी महाशाखाका अनुसार मापसे कारवाहीमा पर्नेमा मिडिया मालिक, पत्रकार, डाक्टरदेखि वकिल र प्रहरीका साथै सेनाका अफिसरसमेत कारवाहीमा परेका छन् ।

‘मापसे कारवाहीमा परेका मिडिया मालिक, डाक्टर र पत्रकारले कक्षामा नबस्न र कारवाही छल्न निकै कोसीस् गरे तरपनि केही लागेन आखिर कारवाही भोग्नै पर्यो’ महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत एक अधिकारीले भने ।

उनका अनुसार एक चर्चित टेलिभजनका मालिकनै मापसे कारवाहीमा परेका थिए । सुरक्षा बिटमा काम गर्ने सोही टेलिभिजनका रिपोर्टर मार्फत कारवाही नभोगी लाइसेन्स ल्याउने प्रयास धेरै गरिएपछि सफल हुन सकेन सोही कारणले ती रिपोर्टरलाई जागिरबाटसमेत निकालीयो ।

त्यसैगरी मापसेमा परेका वकिलदेखि डाक्टरले सुरुका दिनमा प्रधानमन्त्री कार्यालयदेखि गृहमन्त्रालयका अधिकारी गुहार्ने गरेका थिए । त्यही बेला केही प्रहरीका एसएसपीसम्म मापसेमा परे उनीहरुले नियम अनुसार कक्षामा सहभागी भएपछि ट्राफिक प्रहरीलाई पहुँच देखाउनेलाई कारवाही गर्न सहज भयो ।

‘मापसे गरेर सवारी चलाउनु हुँदैन, नियमले नमिल्ने काम गरेपछि सजाय भोग्नै पर्छ, अहिले मापसेमा परेकाहरु खुरुखुरु आउछन् प्रक्रिया पूरा गरी जान्छन् पहिलाको जस्तो किचलो हुँदैन ।’ एसएसपी पन्तले भने ।