टिकटक बन्द गर्न केन्द्र सरकारलाई मदरास उच्च अदालतको आग्रह

मदरास उच्च अदालतले बुधबार टिकटकले अश्लीलतालाई उक्साएको उद्रीत गर्दै केन्द्रसँग त्यसको प्रतिबन्धको लागि आग्रह गरेको थियो ।

एजेन्सी । मदरास उच्च अदालतले केन्द्र सरकारसँग भिडियो शेयरिङ एप टिकटकलाई प्रतिबन्ध लगाउन आग्रह गरेको छ । गत फेब्रअरी महिनामा तामिल नाडु राज्यका सूचना प्रविधिमन्त्री एम मनिकान्दनले राज्य सरकारसँग उक्त भिडियो एपलाई प्रतिबन्ध लगाउन माग गर्ने बताएका थिए । मन्त्रीको भनाईको दुई महिनापछि यो मुद्दामा पछिल्लो घटनाक्रम विकास भएको हो ।

रोयटर्स समाचार संस्थाको रिपोर्टअनुसार मदरास उच्च अदालतले बुधबार टिकटकले अश्लीलतालाई उक्साएको उद्रीत गर्दै केन्द्रसँग त्यसको प्रतिबन्धको लागि आग्रह गरेको थियो । चिनियाँ भिडियो एप टिकटकविरुद्ध मदरास उच्च अदालतले सर्वजनिक चासोको मुद्दाहरु सुन्दै आइरहेको छ । ती मुद्दाहरुमा यो एप प्रयोग गर्ने बालबालिकाहरु यौन शिकारीहरुको फन्दामा आउने खतरा रहेको दाबी गरिएको छ ।

मदरास उच्च अदालतले भनेको छ, ‘५० करोडभन्दा धेरै मानिसहरु टिकटकको प्रयोगकर्ता रहेका छन् र यो सही दिशातर्फ गइरहेको छैन । अनुपयुक्त सामाग्रीहरु टिकटकको खतरनाक पक्ष हो ।’ मदरास उच्च अदालतले भनेको छ । यस वर्षको सुशवातमा युवाहरुले यो एपको प्रयोग गरेर राजनीतिज्ञहरुको ट्रोल गर्ने र खिल्ली उडाउने गरेको रिपोर्टहरु आएपछि टिकटकले अप्ठ्यारो अवस्थाको सामना गरेको हो ।