हुँदै नभएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट क्यानडा !, ठगिए ६ बङ्गलादेशी

क्यानडा जाने भन्दै ठिक्क परेर ६ जना बङ्गाली होटल छाड्ने तरखरमा थिए । त्यहीबीचमा होटलवालाले सोधीखोजी गरे । पोखरा हुँदै क्यानडा जाने भनेपछि होटलवालासमेत झस्किए । त्यसपछि मात्र उनीहरुलाई पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल छैन भन्ने जानकारी भयो ।

काठमाडौं । भनिन्छ, ठगका अनेक दाउ हुन्छन् । आखिर भएको छ पनि त्यस्तै । बिचौलियामार्फत नेपालको पोखरा विमानस्थल हुँदै क्यानडा जाने चक्करमा लाग्दा ६ जना बङ्गलादेशी नागरिकको बिचल्ली भएको छ ।

नेपाली बाटो हुँदै क्यानडा लैजाने भन्दै सिद्दिकी स्माइल नामक एक बङ्गालीले फागुन २४ गते बङ्गलादेशबाट ६ जनालाई नेपाल ल्याएर बिचल्ली बनाएका हुन् । प्रहरीका अनुुसार बङ्गलादेशबाट नेपाल ल्याएर सिद्दिकीले एक नेपालीलाई जिम्मा लगाएका थिए ।

बङ्गलादेशीलाई ती नेपालीले काठमाडौंको नयाँ बसपार्कमा रहेको होटल पिस डिभाइनमा राखे । त्यसपछि उनीहरुलाई अप्रिल ३ तारिखमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आवुधाबी ट्रान्जिट हुँदै क्यानडाको टोरेन्टोसम्मको टिकट दिएर ती नेपालीले ३ हजार ६ सय अमेरिकी डलर लिएर फरार भएका छन् ।

मार्च ८ तारिखमा नेपाल आएका उनीहरुलाई सोही गेस्ट हाउसमै राखिएको थियो । नेपाल पुगेपछि सिद्दिकीले ६ जनालाई नै नेपालीको जिम्मा लगाएको र त्यसपछि उनी सम्पर्कबाहिर गएको प्रहरी अनुन्धानबाट खुलेको छ । त्यसपछि ती नेपालीले बुधबार पोखरा विमानस्थलबाट इतिहादको विमानमार्फत आबुधाबी हुँदै क्यानडासम्मको टिकट दिएर गए ।

क्यानडा जाने भन्दै ठिक्क परेर ६ जना बङ्गाली होटल छाड्ने तरखरमा थिए । त्यहीबीचमा होटलवालाले सोधीखोजी गरे । पोखरा हुँदै क्यानडा जाने भनेपछि होटलवालासमेत झस्किए । त्यसपछि मात्र उनीहरुलाई पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल छैन भन्ने जानकारी भयो ।

होटलले प्रहरी बोलाइदियो । प्रहरीले बिचल्लीमा परेका ६ बङ्गालीलाई उद्धार गरेर राखेको छ । मार्च ८ मा आएका उनीहरुको खाने खर्चसमेत नभएको प्रहरीले जनाएको छ । भएको पैसा जति नेपाली बिचौलिया र बङ्गलादेशबाट ल्याउनेले लिएको र अहिले खाने खर्चसमेत नभएकाले प्रहरीले नै खाना दिएर राखेको काठमाडौं प्रहरी प्रवक्ता डीएसपी होवीन्द्र बोगटीले जानकारी दिए ।

फरार नेपालीको खोजी भइरहेको उनले बताए । उद्धार गरिएका बङ्गालीलाई स्वदेश फर्काउन नेपालस्थित बङ्गलादेश दूतावाससँग कुरा गर्ने प्रहरीले जानकारी दिएको छ ।