प्रशोधित खाने पानीविरुद्ध १५ ओटा मुद्दा

२१ ओटा मुद्दामध्ये प्रसोेधित पिउने पानीविरुद्ध मात्रै १५ ओटा मुद्दा दायर भएको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले जानकारी दिए ।

काठमाडौं । चार महिनाको अवधिमा दूषित खाद्यवस्तु मिसावट, गुणस्तरहीन खाद्यवस्तु उत्पादन तथा बिक्रीवितरण कसुरमा २१ ओटा मुद्दा दायर भएका छन् । बिहीबार काठमाडौंमा आयोजित खाद्य तथा गुण नियन्त्रण विभागको दोस्रो चौमासिक कार्य विवरण सार्वजनिक कार्यक्रममा गत साउनदेखि अहिलेसम्म खाद्यवस्तु तथा प्रशाेधित पिउने पानीसहित २१ ओटा मुद्दा दायर भएको जानकारी दिइएको हो ।

२१ ओटा मुद्दामध्ये प्रशाेधित पिउने पानीविरुद्ध मात्रै १५ ओटा मुद्दा दायर भएको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले जानकारी दिए । विभागका अनुसार गत वर्षको तुलनामा यो वर्ष उपभोक्ताहरुबाट गुनासोहरु बढेका तथा साउनदेखि फागुन मसान्तसम्म मात्रै विभिन्न शीर्षकमा १३६ ओटा मुद्दा दायर भएका छन् ।

कार्यक्रममा बोल्दै विभागका महानिर्देशक सञ्जीव कर्णले सडक तथा राजमार्गमा भएका होटल तथा रेस्टुरेन्टको अनुगमनलाई तीव्रता दिइएको र त्यसका लागि निर्देशिका पनि बनाउने तयारी गरिरहेको जानकारी दिए ।

कार्यक्रममा विभागले उपत्यकाको भृकुटीमण्डपलगायत छ ठाउँमा खाद्य मेला सम्पन्न गरिसकेको र चैत २२ देखि २४ गतेसम्म जनकपुरमा अर्को खाद्य मेला आयोजना गर्न लागेको जानकारी दिइएको थियो ।