५ वर्षमा प्रतिव्यक्ति आय १६०० डलर, गरिबी १३ प्रतिशतमा झर्ने

राष्ट्रिय योजना आयोगले तयार पारेको १५ औं योजनाको आधारपत्रमा आर्थिक वर्ष ०८०/०८१ सम्म प्रतिव्यक्ति आम्दानी १ हजार ६०० अमेरिकी डलर पर्याउने लक्ष्य लिएको हो ।

काठमाडौं । सरकारले १५ औं पञ्चवर्षीय योजनाको अवधिमा प्रतिव्यक्ति आय बढाएर १ हजार ६०० अमेरिकी डलर पर्याउने लक्ष्य लिएको छ । राष्ट्रिय योजना आयोगले तयार पारेको १५ औं योजनाको आधारपत्रमा आर्थिक वर्ष ०८०/०८१ सम्म प्रतिव्यक्ति आम्दानी बढाउने लक्ष्य लिएको हो ।

सरकारले ५ वर्षमा प्रतिव्यक्ति आय ५८८ डलर बढाउने लक्ष्य लिएको छ । हाल प्रतिव्यक्ति आय १ हजार १२ डलर रहेको छ । प्रतिव्यक्ति आय बढाएर सो अवधिमा गरिबीको रेखामुनी रहेको जनसंख्यालाई १९ प्रतिशतबाट घटाएर ५ वर्षमा १३ प्रतिशतमा झार्ने लक्ष्य लिएको छ । आर्थिक बर्ष २०७४/०७५ सम्म नेपालमा १८.६ प्रतिशत जनसंख्या गरिबीको रेखामुनी (निरपेक्ष गरिबी) र २८.६ प्रतिशत जनसंख्या बहुआयामिक गरिबी रहेको आयोगको तथ्याङ्कमा छ । पञ्चवर्षीय योजनामा बेरोजगारी दर ११ प्रतिशतबाट घटाएर ६ प्रतिशतमा झारिने लक्ष्य छ । यस अवधिमा सरकारले रोजगारी बढाएर वेरोजगारी दर घटाउने भएको हो ।

आगामी पाँच वर्षको अवधिमा उच्च आयस्तर भएको मुलुकमा स्तरोन्नती हुने आधार निर्माण गर्ने राष्ट्रिय लक्ष्य छ । राष्ट्रिय विकास परिषद्को बैठकबाट आगामी १५ औं पञ्चवर्षीय योजनाको आधारपत्र स्वीकृतसमेत गरेको छ । आगामी आर्थिक वर्ष २०७६/०७७ बाट १५ औँ पञ्चवर्षीय योजना लागू हुनेछ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई पञ्चवर्षीय योजनाले मुख्य आधार मानेको छ ।

त्यस्तै, मुलुकलाई दोहोरो अङ्क अर्थात १०.३ प्रतिशत आर्थिक वृद्धि गर्ने लक्ष्य लिएको छ । राष्ट्रिय विकास परिषद्को बैठकमा आयोगका सदस्यको राय सुझावलाई अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पारित गरेका थिए । उक्त आधारपत्र मन्त्रिपरिषद्बाट स्वीकृत गरी अन्तिम रुप दिइनेछ ।

सेवा तथा उद्योग, कृषि, वन र पर्यटन क्षेत्र विकासमा जोड दिँदै आर्थिक वृद्धिदर गर्ने सरकारी लक्ष्य छ । पञ्चवर्षीय योजना ठूला तथा गौरवका राष्ट्रिय योजनाको प्राथमिकीकरण, क्षेत्रगत उत्पादकत्व, योगदान बढाई समग्र उत्पादन ५० प्रतिशत बढाउने लक्ष्य छ । आयात घटाउने र निर्यात प्रर्वद्धनमासमेत आगामी पञ्चवर्षीय योजनाले केन्द्रीत गरेको छ । अहिले १४.७ प्रतिशतको कुल आयातलाई पाँच वर्षभित्र ५ प्रतिशतमा झार्ने लक्ष्य लिएको छ ।

त्यस्तै, १५ हजार किलोमिटर लोकमार्ग कालोपत्रे, ७६ किमी द्रुतमार्ग र ११२ किमी रेलमार्ग ट्र्याक पञ्चवर्षीय योजना अवधिमै निर्माण गर्ने लक्ष्य छ । ९५ प्रतिशत घरपरिवार कम्तीमा ३० मिनेटको दुरीमा यातायात पहुँच पर्याउने लक्ष्य छ । खानेपानी र विद्युत्मा सतप्रतिशत जनसंख्याको पहुँच पर्याउने पञ्चवर्षीय योजनाको लक्ष्य छ ।

कृषि, वन र खानी क्षेत्रको योगदान २३ प्रतिशत, उद्योगको १९ प्रतिशत र सेवा क्षेत्रको ५८ प्रतिशत पु¥याउने लक्ष्य छ । पाँचवर्षमा ५ हजार मेगावाट विद्युत्, प्रतिव्यक्ति विद्युत् उपयोग १९८ बाट ७०० किलोवाट पु¥याउने लक्ष्य छ । व्यापार सन्तुलन अन्तर्गत आयात—निर्यात अनुपात १.१५बाट घटाएर १.१० प्रतिशत बनाउने लक्ष्य लिएको छ ।