एक वर्षमा १७३४ मेगावाटका ८९ जलविद्युत् आयोजनाको पीपीए

एक वर्षको अवधिमा २८८२ मेगावाटका विभिन्न २५ ओटा आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र जारी भएका छन् । कुल ५ हजार ४१५ मेगावाटको ५२ ओटा आयोजनाको विद्युत् उत्पादनको सर्वेक्षण अनुमतिपत्र जारी भएको विद्युत् विकास विभागले जनाएको छ ।

काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा १७३४ मेगाबाट क्षमताका ८९ ओटा जलविद्युत् आयोजनाको विद्युत् खरिद विक्री सम्झौता (पीपीए) भएको छ । विद्युत् विकास विभागबाट निर्माण अनुमति पाएर निर्माणधीन ८९ ओटा जलविद्युत् आयोजनाको पीपीए भएको हो ।
सो अवधिमा १४० मेगावाटको तनहुँ जलविद्युत आयोजना सबैभन्दा ठूलो क्षमताको आयोजनाको पीपीए भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । नेपाल विद्युत् प्राधिकरण तथा निजी क्षेत्रको लगानीमा निर्माण अघि बढेको साना—ठूला जलविद्युत् आयोजनाको पीपीए भएको छ ।

यो अवधिमा ९७.२ मेगावाटको इसुवाखोला, ८६ मेगावाटको लान्द्रुक मोदी जलविद्युत् आयोजना, ७० मेगावाटको सुपर त्रिशुली, ६५ मेगावाटको दुधखोला, ६२ मेगावाटको भोटेकोशी—५.५७ मेगावाटको म्याग्दीखोला, ५० मेगावाटको मस्र्याङ्दी बेशी ४९ मेगावाटको मध्यम मेवा, ४८ मेगावाटको अपर राहुघाट लगायतका आयोजना पीपीए भएका छन् । एक वर्षको अवधिमा २८८२ मेगावाटका विभिन्न २५ ओटा आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र जारी भएका छन् । कुल ५ हजार ४१५ मेगावाटको ५२ ओटा आयोजनाको विद्युत् उत्पादनको सर्वेक्षण अनुमतिपत्र जारी भएको विद्युत् विकास विभागले जनाएको छ ।

हालसम्म कुल १७ हजार ९७६ मेगावाटका २९१ ओटा आयोजनाको अध्ययन विभिन्न चरणमा छन् । यस अवधिमा ६ मेगावाटको २ ओटा बगास विद्युत् आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र लाइसेन्स जारी भएको विभागले जनाएको छ । त्यस्तै, यस अवधिमै कुल ३३९ मेगावाट क्षमताका २७ ओटा सौर्य विद्युत् आयोजनाको उत्पादनको सर्वेक्षण अनुमतिपत्र जारी भई हालसम्म ४४६ मेगावाटका ४९ ओटा सौर्य विद्युत् आयोनजाहरु अध्ययनको विभिन्न चरणमा रहेको विभागले जनाएको छ ।

यता, निजी क्षेत्रको लगानीमा झन्डै ४ हजार मेगावाटका आयोजनाहरु पीपीएको अन्तिम चरणमा छन् । २५ सय मेगावाटको ‘आयोजना फाइनान्सियल क्लोजर’ भइ पीपीएका लागि आवेदन दिएका छन् । प्राधिकरणले यसबर्ष साढे २ सय मेगावाटका विभिन्न आयोजना निर्माण सम्पन्न भइ विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ ।