निजी आवास पुनर्निर्माणका लागि थप ११ अर्बको अख्तियारी

निजी आवास निर्माणका लागि विश्व बैङ्कले दिने थप ३० अर्ब ऋण सहयोगको यही माघ पहिलो साता विश्व बैङ्क र अर्थ मन्त्रालयबीच सम्झौता भइसकेको प्राधिकरणले जनाएको छ ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणले निजी आवास पुननिर्माणका लागि थप ११ अर्बको अख्तियारी दिएको छ । विभिन्न जिल्लामा किस्ता वितरण गर्न प्राधिकरणले संघीय मामिला तथा स्थानीय मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वय इकाइलाई यस्तो अख्तियारी दिएको हो ।

निजी आवास निर्माणका कार्य विभिन्न जिल्लाहरुमा उल्लेखनीय गतिमा बढिरहेकाले अनुदान रकमको माग उच्च हुने भन्दै प्राधिकरणले थपेको हो । प्राधिकरणले अनुदान मागको चाप बढ्न सक्ने स्थितिलाई विचार गरी थप ५ अर्ब रकमान्तरका लागि अर्थ मन्त्रालयलाई आग्रह पनि गरेको छ ।

निजी आवास पुनर्निर्माण गरिरहेको लाभग्राहीका लागि किस्ताबापतको रकमका लागि कुनै समस्या नभएको प्राधिकरणका उपसचिव एवम् सूचना अधिकारी मनोहर घिमिरेले जानकारी दिए । ‘पुनर्निर्माणका गरिरहेका लाभग्राहीलाई किस्ताबन्दीको समस्या छैन,’ घिमिरेले भने, ‘अनुदान मागको चाप बढ्ने सम्भावनाले थप रकम अख्तियारी दिएका हौँ ।’ उनले सबै जिल्लामा निजी आवास निर्माणको काम तीव्र रुपमा भइरहेको बताए ।

गत मङ्गलबारको तथ्याङ्कअनुसार अहिले २ लाख ९१ हजार ८ सय ९५ घर निर्माणाधीन छन् । दोस्रो किस्ताका लागि २ लाख २७ हजार ८ सय ५४ लाभग्राही प्रमाणीकरण भइसकेका छन् । निजी आवास निर्माणका लागि विश्व बैङ्कले दिने थप ३० अर्ब ऋण सहयोगको यही माघ पहिलो साता विश्व बैङ्क र अर्थ मन्त्रालयबीच सम्झौता भइसकेको प्राधिकरणले जनाएको छ ।