विद्युतीय सवारीमा सुन्दर यातायातको १९ करोड लगानी

वैशाख १५ गतेभित्र पहिलो चरणमा तीन ओटा विद्युतीय बस सञ्चालन गर्ने योजनामा सुन्दर यातायात छ । अहिले सुन्दर यातायातअन्तर्गत विद्युतीय सवारीमा निजी क्षेत्रका ८१ जना व्यक्तिको झन्डै १९ करोड रुपैयाँ लगानी भइरहेको प्रालिका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए ।

काठमाडौं । विद्युतीय सवारीतर्फ निजी क्षेत्रका कम्पनीहरुको आकर्षण बढ्दै गइरहेका बेला सुन्दर यातायात प्रालिले विद्युतीय सवारी खरिदमा १९ करोड रुपैयाँ लगानी गरेको छ । कम्पनीले आगामी ३ महिनाभित्र एक दर्जनभन्दा बढी विद्युतीय बस खरिद गरी सञ्चालन गर्ने योजनासहित उक्त लगानी गरेको प्रालिले जनाएको छ ।

वैशाख १५ गतेभित्र पहिलो चरणमा तीन ओटा विद्युतीय बस सञ्चालन गर्ने योजनामा सुन्दर यातायात छ । अहिले सुन्दर यातायातअन्तर्गत विद्युतीय सवारीमा निजी क्षेत्रका ८१ जना व्यक्तिको झन्डै १९ करोड रुपैयाँ लगानी भइरहेको प्रालिका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए ।

उनले हालसम्म साढे १० करोड लगानी भइसकेको र बाँकी ९ करोड रुपैयाँ लगानी हुने चरणमा रहेको थापाले जानकारी दिए । ‘हालसम्म सुन्दर यातायातअन्तर्गत ८१ जना व्यक्तिको संयुक्त लगानी छ,’ उनले भने, ‘त्यसअनुसार हालसम्म साढे १० करोड लगानी भइसक्यो । झन्डै १९ करोड लगानीमध्ये ९ करोड थप विद्युतीय सवारी खरिदमा खर्चिने छौं ।’ उनले आगामी तीन महिनाभित्र १२ ओटा विद्युतीय सवारी सञ्चालन गर्ने योजना रहेको जानकारी दिए ।

चिनियाँ कम्पनी बिएकेसँग साझेदारी गरी प्रालिले विद्युतीय सवारी खरिद गर्नेछ । पहिलो चरणमा ल्याइने तीन ओटा ठूला विद्युत्तीय बस उपत्यकामै सञ्चालन गर्ने सुन्दरको योजना छ । त्यसपछि दोस्रो चरणमा, ७ ओटा जेठभित्र र तेस्रो चरणमा ३ ओटा असार मसान्तसम्म सञ्चालनमा ल्याउने गरी प्रक्रिया अघि बढाइएको अध्यक्ष थापाले बताए ।

सुन्दर यातायातले ल्याउने विद्युतीय बस सुरक्षित, अपाङ्गमैत्री र भाडा तिर्न इ—सेवासहितको सुविधा हुनेछ । बसमा सीसी क्यामरा, जीपीएस, उभिएर यात्रा गर्नेका लागि ह्याङ्गरसमेत हुने सुन्दर यातायातले जानकारी दिएको छ ।

भाडा लेनदेनमा कठिनाइ नहोस् भन्ने उद्देश्यले सुन्दर यातायातले ‘सुन्दर भेइकल पब्लिक रिचार्ज कार्ड’समेत व्यवस्था रहेको थापाले बताए । त्यसैगरी, गाडीमा मोबाइलबाटै पैसा तिर्न मिल्ने प्रविधि जडान गरिएको हुनेछ ।

गाडीको परीक्षण गरेपछि एनसेल, एनटीसीलगायतका दूरसञ्चार प्रदायक कम्पनीसँग मोबाइलको ब्यालेन्सबाट भाडा तिर्न मिल्ने सम्झौता गरिने थापाले बताए । मोबाइलबाटै बस कहाँ र कुन क्षेत्रमा छ र आइपुग्यो भनी पत्ता लगाउन सकिने सफ्टवेयरको सुविधासमेत बसमा हुने छ ।

दुई ओटा बस मेन रिङरोडमा र एउटा भित्री सडकमा चलाउने सुन्दर यातायातको योजना छ । ५० ओटाभन्दा बढी विद्युतीय बस ल्याउने लक्ष्य रहेको प्रालिले जनाएको छ । उक्त बसको मूल्य करिब १ करोड २५ लाखदेखि २ करोड रुपैयाँसम्म पर्छ ।