औरहीमा पनि सिटिजन्सको शाखा

सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले आफ्नो ६६औं शाखा महोत्तरीको औरहीमा सञ्चालनमा ल्याएको छ । बैङ्कका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले उक्त शाखाको उद्घाटन गरेका छन् । उक्त समारोहमा जिल्लाका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न सङ्घसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाको उपस्थिति रहेको बैङ्कले जानकारी दिएको छ ।

सङ्घीयतालाई दह्रो बनाउन र स्थानीय तहबाटै सेवा दिन बैङ्किङ क्षेत्र सात सय ६६ ओटै स्थानीय तहमा पुग्नुपर्ने नियामक निकाय र सरकारको चाहनाअनुसार बैङ्कले उक्त शाखा विस्तार गरेको बताएको छ । सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले ग्राहकलाई ६६ शाखा, ६२ एटीएम काउन्टर र ९७ ओटा शाखारहित आधुनिक बैङ्किङ सेवाबाट करिब तीन लाख ५० हजार ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

साथै ग्राहकलाई रेमिट्यान्स सेवा, ड्राफ्ट, भिसा एटीएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाका साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिनेजस्ता सुविधा पनि उपलब्ध गराउँदै आएको जानकारी दिएको छ । समारोहमा सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत बैङ्कले प्रसाद सिंह माध्यमिक विद्यालयलाई दुई थान कम्प्युटर सहयोग गरेको छ ।