धेरै माग नउठाउन कर्मचारीलाई सञ्चारमन्त्रीको आग्रह, निर्णय फिर्ता नलिए आन्दोलन गर्ने कर्मचारीको चेतावनी

दूरसञ्चार कम्पनीका कर्मचारीले कम्पनी ऐनअन्तर्गत दर्ता भइसकेकोे दूरसञ्चार कम्पनीलाई तोकिएको ४० अर्ब रुपैयाँको रोयल्टी नवीकरण शुल्क सरकारले फिर्ता नलिए आन्दोलनमा उत्रिने धम्की दिएका थिए । कार्यक्रममा विशिष्ट अतिथिका रुपमा आएका मन्त्री बाँस्कोटाले टेलिकम सरकार नभएको खरो प्रतिक्रिया दिदैँ धेरै माग नउठाउन भनेका थिए ।

काठमाडौं । सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कर्मचारीलाई धेरै माग नउठाउन भनेका छन् । नेपाल दूरसञ्चार कम्पनी (एनटीसी)का दुई कर्मचारी खेमाबीच सम्पन्न एकता घोषणा कार्यक्रममा मन्त्री बाँस्कोटाले त्यस्तो भनेका हुन् ।

दूरसञ्चार कम्पनीका कर्मचारीले कम्पनी ऐनअन्तर्गत दर्ता भइसकेकोे दूरसञ्चार कम्पनीलाई तोकिएको ४० अर्ब रुपैयाँको रोयल्टी नवीकरण शुल्क सरकारले फिर्ता नलिए आन्दोलनमा उत्रिने धम्की दिएका थिए । कार्यक्रममा विशिष्ट अतिथिका रुपमा आएका मन्त्री बाँस्कोटाले टेलिकम सरकार नभएको खरो प्रतिक्रिया दिदैँ धेरै माग नउठाउन भनेका थिए । मन्त्री बाँस्कोटाले भने, ‘टेलिकम सरकार होइन । तपाईंहरुले विकट भूभागका मानिसहरुलाई पनि हेर्नु पर्छ, सरकारसमक्ष प्याक प्याक माग नउठाउनु होस् ।’

सोही कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित सत्ताधारी दल नेकपाका अध्यक्ष प्रचण्डले सञ्चारमन्त्री बाँस्कोटाको जस्तो खरो प्रतिक्रिया आफूले नदिने तर कर्मचारीले उठाएका मागप्रति गम्भीर ध्यानाकर्षण गर्दै त्यसलाई पार्टी तथा सरकारमा उठाउने बताएका छन् । प्रचण्डले एकतालाई सफलताको शुभकामना दिँदै प्रविधिको युगमा प्रतिस्पर्धामा एनटीसी पनि खरो उत्रिनु पर्ने बताएका छन् ।

पूर्व एमाले निकट दूरसञ्चार कर्मचारी सङ्गठन टिन र पूर्व माओवादी निकट सङ्गठन नियोनएटीबीच आज एकता भएको हो । एकतापछि सङ्गठनको नाम एनटिन राखिएको छ भने सङ्गठनको लोगो र झण्डा पनि परिवर्तन गरिएको छ । महाधिवेशनअघि ५८ र ४२ को अनुपातमा सङ्गठन समायोजन गर्ने बताइएको छ ।

कार्यक्रममा सङ्गठनले गत वर्ष एसईई परीक्षामा राम्रो अङ्क हासिल गर्ने कर्मचारीका छोराछोरीलाई पनि सम्मान गरेको थियो ।