आईस्पानको खबरदारी–बिना प्रतिस्पर्धा फ्रिक्वेन्सी नदिइयोस्

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिना प्रतिस्पर्धा नै इन्टरनेट सेवा प्रदायकको फ्रिक्वेन्सी प्रदान गर्न लागेको विरोधमा आईस्पानले प्राधिकरणसमक्ष ज्ञापन पत्र पनि बुझाएको छ

काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन (आईस्पान)ले शुक्रबार नेपाल दुरसञ्चार प्राधिकरण अगाडि विरोध प्रदर्शन गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिना प्रतिस्पर्धा नै इन्टरनेट सेवा प्रदायकको फ्रिक्वेन्सी प्रदान गर्न लागेको विरोधमा आईस्पानले प्राधिकरणसमक्ष ज्ञापन पत्र पनि बुझाएको छ ।

डिजिटल टेरेस्टेरियल टेलिभिजन ब्रोडकास्टिङ (डीटीटीबी)मा आधारधित प्रभु डिजिटल संस्था र अन्य चार ओटा संस्थालाई बिना प्रतिस्पर्धा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फ्रिक्वेन्सी दिने भन्ने अबर बाहिर आएपछि आफूहरुले खबरदारीस्वरुप विरोध गरेको इस्पानका पूर्वाध्यक्ष तथा भाएनेट कम्पनीका अध्यक्ष बिनय बोहोराले क्यापिटल नेपालसँग बताएका छन् ।

श्रोतका अनुसार प्रभुको निवेदनमा सरकारले कुल १८४ मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराउने तयारी गरेको छ । प्रभुले इन्टरनेट सेवा सञ्चालनका लागि मन्त्रालयमा निवेदन दिएको थियो भने इजाजतपत्रका लागि प्राधिकरणमासमेत निवेदन दिएको छ ।

इस्पानको विरोधको प्रतिक्रियामा प्राधिकरणले मन्त्रालयसँग यस विषयमा छलफल गर्ने आश्वासन दिएको बोहोराले बताए । प्राधिकरणले भने तत्काल इस्पानले बुझाएको ज्ञापनपत्रमाथि अध्ययन गरिरहेको प्राधिकरणका कार्यावाहाक अध्यक्ष पुरुषोत्तम खनालले बताए ।