खाद्य विभागले गर्यो दर्जन होटल तथा मिठाइ पसलको अनुगमन, केही पसलका खाद्य पदार्थ नष्ट

त्यस्तै, शाक्य स्विट्समा लेवल नभएको ८ किलोग्राम फुरनदाना, ४ किलो गुँदपाक र ८०० ग्राम नमकिन नष्ट गर्नुका साथै मिठाइ तार्न प्रयोग भएको तेलमा पोलार भ्यालु २५ भन्दा कम हुनु पर्नेमा २७ पाइएकोले १० लिटर तेल नष्ट गरिएको अनुगमन टोलीले जनाएको छ ।

काठमाडौं ।खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले शुक्रबार ललितपुर जिल्लास्थित कमलविनायक क्षेत्रमा रहेका दर्जन होटल, मिठाइ लगायतका पसलमा अनुगमन गरेको छ । मोबाइल प्रयोगशाला समेतको परिचालन गरी गरिएको अनुगमनमा केही होटल रेष्टुरेन्ट तथा मिठाइ पसलमा गुणस्तरहीन खाद्य पदार्थ राखिएको भेटिएपछि नष्ट गरिएको छ ।

विभागका खाद्य अनुसन्धान अधिकृत इश्वर सुवेदीको नेतृत्वमा गएको टोलीले लावजु मिष्ठान्न भण्डारको अनुगमन गरी लेवल नभएको ४ किलोग्राम मसला नष्ट गरेको छ

त्यस्तै, शाक्य स्विट्समा लेवल नभएको ८ किलोग्राम फुरनदाना, ४ किलो गुँदपाक र ८०० ग्राम नमकिन नष्ट गर्नुका साथै मिठाइ तार्न प्रयोग भएको तेलमा पोलार भ्यालु २५ भन्दा कम हुनु पर्नेमा २७ पाइएकोले १० लिटर तेल नष्ट गरिएको अनुगमन टोलीले जनाएको छ ।

काफ्ले मिठाइमा पनि २ बट्टा हाइड्रो जफत र साढे दुइ किलोग्राम गुँदपाक गुणस्तरहीन भेटिएपछि नष्ट गरिएको छ । सोही क्षेत्रमा रहेको गरिमा स्विट्सको अनुगमन गरी लेवल नभएको १० किलोग्राम गुँदपाक नष्ट गरिएको छ ।त्यस्तै भिआइपी मःमको अनुगमन गरी पसलमा सरसफाइमा सुधार दिन निर्देशन दिइएको विभागले जनाएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौंका खाद्य अनुसन्धान अधिकृत श्रीराम न्यौपानेको नेतृत्वमा ललितपूर जिल्लास्थित विभिन्न खाद्य उद्योग, होटल, रेष्टुरेण्ट तथा पसलको अनुगमन गरेको छ

सो टोलीले गरेको अनुगमनमा रियल फुड क्याफे हात्तिबनमा उचित सरसफाइ नभएको पाइएपछि सुधार गर्न निर्देशन दिएको छ । त्यस्तैगरी, स्काइ मार्ट हात्तिबनको अनुगमनमा उपभोग्य मिति हेरेर मात्र खाद्यवस्तु मात्र बिक्रि गर्न निर्देशन दिइएको छ ।

यता, नेपाल डेरी प्रालि हात्तिबनको अनुगमन गरी सरसफाइमा सुधार गर्न समेत निर्देशन दिइएको छ । स्प्रिङ्ग फुड एण्ड वेभरेज प्रालि हरिसिद्धिमा तोकिएको मापदण्ड अनुरुप परिक्षण प्रयोग गर्न निर्देशन दिइएको छ ।

विभागले पछिल्लो समय काठमाडौं उपत्यकाक्षेत्र र उपत्यकाबाहिरका विभिन्न जिल्लामा गुणस्तर अनुगमनलाइ निरन्तरता दिइएको छ । उपभोग्य वस्तुको गुणस्तर तत्काल कार्यस्थलमै चेकजाँच गरी परिक्षण गर्न मोबाइल प्रयोगशाला भ्यान परिचालन गरिएको विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले जानकारी दिए ।