प्रधानमन्त्रीले गरे भेरी बबई–डाइभर्सन सुरुङमार्गको ‘ब्रेक थ्रु’

नेपालमै पहिलोपटक टनेल बोरिङ (टीबीएम) मेसिनको प्रयोग गरी सुरुङ खन्न थालेपछि निर्धारित समयभन्दा एक वर्षअघि नै सुरुङ खन्ने काम सकिएको छ । चिनियाँ प्रविधिसँगै भित्र्याइएको टीबीएम मेसिनले १९ महिना १२ दिन लगाएर सुरुङमार्गको ‘ब्रेक थ्रु’ गरेको आयोजना निर्देशक सञ्जीब बरालले जानकारी दिए ।

काठमाडौं । भेरी बबई–डाइभर्सन बहुउद्वेश्यीय आयोजनाको सुरुङमार्गको ‘ब्रेक थु्र’ भएको छ । आयोजनाको मङ्गलबार (आज) प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितीमा औपचारिक रुपमा ‘ब्रेक थ्रु’ भएको हो । नेपालमै पहिलोपटक टनेल बोरिङ (टीबीएम) मेसिनको प्रयोग गरी सुरुङ खन्न थालेपछि निर्धारित समयभन्दा एक वर्षअघि नै सुरुङ खन्ने काम सकिएको छ । चिनियाँ प्रविधिसँगै भित्र्याइएको टीबीएम मेसिनले १९ महिना १२ दिन लगाएर सुरुङमार्गको ‘ब्रेक थ्रु’ गरेको आयोजना निर्देशक सञ्जीब बरालले जानकारी दिए । सुरुङको लम्बाइ १२ हजार २०० मिटर छ । चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनीले सुरुङ खन्ने काम सकेको छ ।

वि.सं २०६८ सालबाट आयोजना औपचारिक रुपमा अघि बढेपछि राष्ट्रिय गौरवका आयोजनाको सूचीमा राखेर निर्माण अघि बढाइएको थियो । २१ ओटा राष्ट्रिय गौरवका आयोजनामध्ये यो पहिलो र छिटो सम्पन्न भएको आयोजना पनि हो । वि.सं २०७४ कात्तिकदेखि टीबीएम मेसिनको प्रयोग गरी सुरुङ खनिँदै आएको थियो । आयोजनाको मुख्य काम सुरुङमार्ग आगामी २०७६ चैतसम्म सक्नुपर्ने लक्ष्य थियो । यो रिभर डाइभर्सनमा आधारित आयोजना भएकाले यसबाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ । स्वदेशी लगानीमा बनेको यो बहुउद्धेश्यीय परियोजना हो ।

आयोजनाबाट सिंचाईका अतिरिक्त बिजुली पनि उत्पादन गर्ने भएकाले रणनीतिक महत्व रहेको छ । भेरीको पानी बबईमा मिसाएर रिभर डाइभर्सन, टीबीएम मेशिनबाट सुरुङ खन्न सफल, निर्धारित समय भन्दा १ वर्षअघि सम्पन्न भएको र सिंचाईका अतिरिक्त जलविद्यत उत्पादन हुने भएकाले यो महत्वपूर्ण भएको छ । सरकारले यही परियोजनाको आधारमा कालिगण्डकी, सुनकोशीलगायत नदीमा डाइभर्सन परियोजनाको काम अघि बढाउने तयारी थालेको छ ।

आयोजनाको रणनीति लक्ष्य

यो आयोजनाले मुख्यगरी कृषियोग्य जमिनको सिँचाईसँगै जलविद्युत् उत्पादन गर्ने छ । बाँके र बर्दिया जिल्ला आसपासको झन्डै ५१ हजार हेक्टर कृषियोग्य जमिनमा सिँचाई सुविधा पु¥याउने यो आयोजनाको मुख्य उद्धेश्य हो । सुर्खेतकोे भेरीगंगा नगरपालिकास्थित चिप्लेमा १५ मिटर अग्लो बाँध बनाएर सुरुङमार्फत प्रतिसेकेन्ड ४० घनमिटर भेरीको पानी बबईमा खसाल्ने आयोजनाको लक्ष्य छ । सोही पानीबाट ४८ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य छ । आयोजना प्रभावित क्षेत्रको आर्थिक र सामाजिक विकासका यो आयोजना कोशेढुंगा बन्ने अपेक्षा गरिएको छ ।

सिंचाईसँगै जनताको जलविद्युत् आयोजना

यो आयोजना मुख्य रुपमा सिँचाई सुविद्या पु¥याउने भनिए पनि ४८.८ मेगावाटको विद्युत् उत्पादन गर्ने लक्ष्य छ । जुन जलविद्युत् आयोजनामा जनताको लगानी हुने गरी सरकारले योजना अघि बढाएको छ । अर्थात भेरी बबई जलविद्युत् आयोजनामा जनताको सेयर रहने छ ।

टीबीएम मेसिनको सफल प्रयोग

अमेरिकी प्रविधिअन्र्तगत चीनमा बनेको टनेल बोरिङ(टीबीएम) मेसिनको सफल प्रयोग यो आयोजनामा देखिएको छ । मेसिन प्रयोगबाट सुरुङ खन्न छिटो र सहज भएको आयोजना प्रमुख बरालको तर्क छ । ‘टीबीएम मेसिन सफल प्रयोग यो आयोजनामा देखिएको छ’ उनले भने, ‘यस्ले टनेल खन्न सजिले, छिटो र लागत कटौती भएको छ ।’ परम्परागत प्रविधिबाट दैनिक ३ देखि ५ मिटर टनेल खन्न सकिन्थ्यो भने मेसिनको प्रयोग औसतमा २०.८ मिटर टनेल खन्न सफल भएको आयोजनाले जनाएको छ । यो मेसिनले अधिकतम ६१ मिटरसम्म टनेल खन्न सम्भव देखिएको छ ।

कृषि उत्पादकत्व बढ्ने अपेक्षा

यो आयोजना सम्पन्न भएपछि कृषि उत्पादन र उत्पादकत्व बढ्ने अपेक्षा गरिएको छ । ५१ हजार हेक्टर कृषियोग्य जमिनका सिँचाई सुविधा पुगेपछि त्यसक्षेत्रको कृषि उत्पादन झन्डै ३० प्रतिशत बढ्ने अपेक्षा छ । यसले अर्थतन्त्रको कृषिको योगदान बढाउन सहयोग पु¥याउने निश्चित छ । अहिले नेपालको कृषि ६० प्रतिशत मनसुनमा आधारित छ । अर्थात कृषियोग्य जमिनको ४० प्रतिशत जमिनमा मात्रै सिँचाई पुगेको छ ।

हालसम्म ८ अर्ब खर्च

आयोजनाको कुल लागत १६ अर्ब रुपैयाँ लागत छ । तर, सुरुङमार्ग निर्माणतर्फ भने १० अर्ब रुपैयाँ छुट्याएको थियो । सुरुङ निर्माणतर्फ २०७५ फागुन अन्त्यसम्म ८ अर्ब ९ करोड रुपैयाँ खर्च भएको र केही भुक्तानी गर्न बाँकी रहेको आयोजनाको दाबी छ । तर, सुरुवाती अनुमानित लागतभन्दा कम खर्चमै आयोजना सम्पन्न हुने आयोजना प्रमुख बरालको भनाइ छ ।

आयोजनाको मुख्य ‘टाइमलाइन’ यसप्रकार छः

आयोजनाको नामः भेरी बबई डाइभर्सन बहुउद्वेश्यीय आयोजना
आयोजना सुरुः आर्थिक वर्ष २०६८/०६९
ठेकेदार कम्पनी छनौटः वि.सं २०७१ साउन
चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनीसँग सम्झौताः २०७१ माघ १५
ठेकेदार(कोभेक)ले काम सुरुः २०७२ जेठ २१
सम्पन्न गर्नुपर्ने सम्झौता अवधिः २०७६ चैत १५
सुरुङ निर्माणको काम सुरुः २०७४ कार्तिक
टनेल बोरिङ मेसिन प्रयोग सुरुः २०७४ कात्तिक २०
आयोजनाको कुल लागतः १६ अर्ब रुपैयाँ

यो पनि पढ्नुहोस् ।

भेरी–बबई डाइभर्सनको बाँध र विद्युतगृहको काम अघि बढ्दै, परामर्शदाता नियुक्ति सुरू

भेरी बबई डाइभर्सन परियोजनाः ९ महिनामा झन्डै ६० प्रतिशत सुरुङ खनियो