एनसेलको ८० प्रतिशत स्वामित्व बिक्री गर्दा ६२ अर्ब ६३ करोड ४९ लाख रुपैयाँ लाभकर निर्धारण गरेकोमा उसले अग्रिम कर र बिलम्ब शुल्क गरी २३ अर्ब ५७ करोड ४२ लाख रुपैयाँ भुत्तानी गरेको ठुला करदाता कार्यलयले जनाएको छ ।
काठमाडौं । ठुला करदाता कार्यलयले मोवाइल सेवा प्रदायक एनसेल प्रालिबाट ८० प्रतिशत स्वामित्व बिक्री गर्दा लिने कर निर्धारण गरेको छ । कर कार्यलयले मंगलबार एनसेलबाट ३९ अर्ब ६ करोड ६ लाख रुपैयाँ लाभकर लिने निर्धारण गरेको हो ।
एनसेलको ८० प्रतिशत स्वामित्व बिक्री गर्दा ६२ अर्ब ६३ करोड ४९ लाख रुपैयाँ लाभकर निर्धारण गरेकोमा उसले अग्रिम कर र बिलम्ब शुल्क गरी २३ अर्ब ५७ करोड ४२ लाख रुपैयाँ भुत्तानी गरेको ठुला करदाता कार्यलयले जनाएको छ ।
एनसेलले २५ प्रतिशत आयकर वापत ३५ अर्ब ९१ करोड ३४ लाख, ऐनबमोजिमको शुल्क १८ अर्ब ३३ करोड र ब्याज ८ अर्ब ३९ करोड रुपैयाँ निर्धारण गरेको छ ।
एनसेलले अग्रिम रुपमा २१ अर्ब ५४ करोड ८० लाख र बिलम्व वापत २ अर्ब २ करोड ६२ लाख रुपैयाँ भुत्तानी गरिसकेको ठुला करदाता कार्यलयले जनाएको छ ।
सर्वोच्च अदालतले गत माघ २४ गते लाभकर एनसेल र मलेशियाको आजियटा वनहार्डले तिर्नुपर्ने परमादेश जारी गरेपछि ठुला करदाता कार्यलयले कर निर्धारण गरेको हो । सर्वौच्चले लाभकर भुत्तानी नभएसम्म एनसेललाई लाभांश वितरण र स्वामित्व किनबेचमा रोक लगाउने सरकारका नाममा परामदेश जारी गरेको थियो ।
एनसेलको ८० प्रतिशत स्वामित्वकर्ता रेनोल्ड होल्डिङस र टेलिसोनेरिया स्वीडेनले आजियटा वनहार्ड मलेशियालाई १ खर्ब ४३ अर्ब ३७ करोड ३५ लाख रुपैयाँमा बिक्री गर्दा टेलिसोनेरियाको नाममा ६० अर्ब ७१ करोड २४ लाख रुपैयाँ लाभकर निर्धारण गरेको थियो ।