एक वर्षमा देशभर फोर-जी सेवा विस्तार गर्न चुनौतीपूर्ण

टेलिकमका विभिन्न परियोजनामाथि कार्यप्रगति विवरण प्रस्तुत गर्दै प्रवक्ता वैद्यले फोर-जी एलटीई सेवा सातै प्रदेशमा विस्तारका लागि गत फेब्रुअरी ३ मा तीन ओटा सम्झौता सम्पन्न भई साइट सर्भेको काम भइरहेको बताएकी छन् । साइट सर्भेको काम ६५ प्रतिशत पूरा भइसकेको वैद्यले बताइन् ।

काठमाडौं । १२ महिनाभित्र मुलुकभर फोर-जी नेटवर्क सेवा विस्तार गर्न चुनौतीपूर्ण हुने देखिएको नेपाल टेलिकमले बताएको छ । बिहीबार भएको पत्रकार अन्तरक्रिया कार्यक्रममा टेलिकमकी प्रवक्ता प्रतिमा वैद्यले सातै प्रदेशमा फोर-जी सेवा पुर्याउन चुनौतीपूर्ण हुने बताएकी छन् ।

टेलिकमका विभिन्न परियोजनामाथि कार्यप्रगति विवरण प्रस्तुत गर्दै प्रवक्ता वैद्यले फोर-जी एलटीई सेवा सातै प्रदेशमा विस्तारका लागि गत फेब्रुअरी ३ मा तीन ओटा सम्झौता सम्पन्न भई साइट सर्भेको काम भइरहेको बताएकी छन् । साइट सर्भेको काम ६५ प्रतिशत पूरा भइसकेको वैद्यले बताइन् ।

यस्तै मोबाइल सेवा विस्तार प्रगतिमा चालू आर्थिक वर्षको चैत मसान्तसम्म चार सय थ्रीजी बीटीएस टावरको स्तरोन्नति भइसकेको र चार सय सात ओटा बीटीएस टावर थप गरिएको छ ।

टेलिकमले मोबाइल गुणस्तर अभिवृद्धिका लागि पावरका कारणले बीटीएस डाउन हुने अवस्था न्यूनीकरणका लागि थप ब्याट्री र रेक्टिफायरहरुको व्यवस्था गरिएको र वैकल्पिक लिङ्क तथा विद्युत् आपूर्तिको व्यवस्था गरिएको बताएको छ ।

टेलिकमले नयाँ ग्राहकलाई एफटीटीएच सेवा प्रदान गर्ने र अहिले एडीएसएलका ग्राहकलाई एफटीटीएचमा रुपान्तरण गर्ने लक्ष्य लिएको छ । मुलुकभर एफटीटीएच वितरण गर्ने लक्ष्यका साथ नेटवर्क विस्तारको कार्य देशभर बनाइएको छ ।

विश्वमा फाइभ–जी नेटवर्क सेवा विस्तार भइसकेको सन्दर्भमा टेलिकमको योजनाबारे कुरा गर्दै प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले फाइभ–जी नेटवर्कका लागि अहिलेसम्म इकोसिस्टम तयार नभएको बताउँदै यसका लागि उपयुक्त उपकरण, सरकारको नीति र वातावरण बनेपछि टेलिकमले यसबारे सोच्ने बताएका छन् । साथै प्राधिकरणलाई तिर्ने २० अर्बको रोयल्टीबारे उनले सरकारले एउटा नीतिगत फ्रेमवर्क तयार पारेपछि टेलिकमले रोयल्टी बुझाउने बताएका छन् ।