भारतको नोयडामा जारी अटो एक्स्पोका आकर्षण बने विद्युतीय कार

एक्स्पोमा विभिन्न सवारीसाधनको प्रदर्शनी त भइरहेकै छ, सँगै भविष्यको प्रविधि अर्थात् विद्युतीय सवारीका बारेमा चर्चापरिचर्चासमेत गरिएको छ । र, यहाँ टप सेभेन विद्युतीय कार पनि प्रदर्शनी गरिएको छ ।

भारतको नोयडामा अहिले अटो एक्स्पो चलिरहेको छ । यसलाई विशेषगरी विद्युतीय कार प्रदर्शनीको एउटा उपयुक्त मञ्चका रुपमा लिइएको छ । उक्त एक्स्पोमा विभिन्न सवारीसाधनको प्रदर्शनी त भइरहेकै छ, सँगै भविष्यको प्रविधि अर्थात् विद्युतीय सवारीका बारेमा चर्चापरिचर्चासमेत गरिएको छ । र, यहाँ टप सेभेन विद्युतीय कार पनि प्रदर्शनी गरिएको छ । अहिले विश्वभर विद्युतीय सवारीको चर्चा चलिरहेको बेला आयोजना गरिएको एक्स्पोमा विभिन्न कम्पनीले आआफ्ना धारणा प्रस्तुत गरेका छन् ।

प्रदर्शनमा राखिएका टप सेभेन विद्युतीय कार यस्ता छन् :

मर्सिडिजनको ईक्यू कन्सेप्ट

मर्सिडिजले एक्स्पोमा ईक्यू कन्सेप्ट इलेक्ट्रिक कार प्रदर्शनीमा रोखेको छ । यो कारलाई कम्पनीको स्थिरताको तारा मानिएको छ । मर्सिडिज–बेन्ज ईक्यू कन्सेप्ट एक पटकको चार्जले ५ सय किमिसम्म गुड्ने बताइएको छ । यसमा लिथियम आयन ब्याट्री प्याक एक्सेलको बीचमा राखिएको छ । ठूलो आकार हुँदाहुँदै पनि यो कारले पाँचै सेकेन्डमा सय किलोमिटरको गति लिन सक्ने मर्सिडिज कम्पनीको दाबी छ ।

टाटाको रेसमो इकेक्ट्रिक


टाटा मोटर्सकोे अल–इलेक्ट्रिक भर्जनलाई रेसमो प्लस नाम दिइएको छ । कम्पनीका अनुसार रेसमो दुई सिटर स्पोर्ट्स कार हो, जो ४ मिटर लामो छ । यो कार १.२ लिटरको टर्बोचार्ज रेभोट्रन आल्मुनियम इन्जिनले युक्त छ, यसको पावर आउटपुट १८६ बीएचपी र २१० एनएफको पिक टर्क छ । कम्पनीका अनुसार रेसमोले ६ सेकेन्डभित्र १ सय किलोमिटरको गति लिन सक्छ ।

हुन्डाईको आयोनिक


हुन्डाईले आयोनिक कार प्रदर्शनमा राखेको छ । आयोनिक टोयोटाको केमरी–प्रेजसको प्रतिद्वन्द्वी हो । आयोनिक ईभी इलेक्ट्रिक मोटरद्वारा सञ्चालित छ । यसले ०–१०० किमिटरको गति केवल १०.२ सेकेन्डमा लिन सक्ने कम्पनीको दाबी छ ।

रेनोको ट्रेजर कन्सेप्ट ईभी


२०१६ मा पहिलो पटक पेरिस मोटर सोमा अनावरण गरिएको रेनो ट्रेजर कन्सेप्ट ईभी पनि प्रदर्शनीमा राखिएको छ । नयाँ डिजाइनमा आएको यो कारमा पावरट्रेन फर्मुला प्रयोग गरिएको छ ।

बीएमडब्लूको आई३एस


प्रिमियम कम्प्याक्ट सेगमेन्टमा विश्वमै सबैभन्दा बढी बिक्ने कम्प्याक्ट विद्युतीय वाहन हो बीएमडब्लू आई३एस । तर बीएमडब्ल्यूका प्रशंसकलाई हलुका विद्युतीय वाहन चाहिएको छ, जुन आई३ प्रिमियमले भने पूरा गर्दैन ।

सुजुकीको ई–सर्भाइबर


यो विद्युतीय सवारी फोर इन–ह्विल हो । छत नभएको, दुईसिटे रहेको यसको अगाडि र पछाडि दुवै एक्सल्समा थोरै मात्र ओभरहेन्ग छ । यो ई–सर्भाइबर मारुति सुजुकी स्टलमा गएर अवश्य हेर्नुपर्ने किसिमको छ । किनभने यो पहिलो दृष्टिमै मोहित बनाउने किसिमको छ ।

युनिटी इलेक्ट्रिक कार


प्रदर्शनीमा एउटा यस्तो विद्युतीय कार पनि प्रदर्शनीमा राखिएको छ, जुन २०२० सम्म भारतमा ल्याइने लक्ष्यसहित स्विडिस निर्माता कम्पनीले राखेको हो । उक्त कारको नाम दिइएको छ– युनिटी इलेक्ट्रिक कार । प्रदर्शनीमा यसलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ । कम्पनीले २०२० सम्म यसका ५–सिटर विद्युतीय कार बजारमा ल्याउनेछ । तर, यसको उत्पादन, एसेम्बलजस्ता कैयौं योजनालाई अन्तिम रुप दिन बाँकी नै छ ।