चीनबाट लगानी ल्याउने भनेको होङसी शिवम सिमेन्टले नेपाली बैंङ्कबाट पैसा उठाउँदै, संचय कोषले २ अर्ब ऋण दिने

बैंङ्कले थप लगानी गरेपछि होङसी शिवमको उत्पादन क्षमता दोब्बर बढेर दैनिक १२ हजार टन पुग्ने छ । हाल उद्योगले दैनिक ६ हजार टन अर्थात १ लाख २० हजार बोरा सिमेन्ट उत्पादन गरिरहेको छ । गत जेठदेखि उद्योगले सिमेन्ट उत्पादन थालेको हो ।

काठमाडौं । चीनबाट लगानी ल्याउने भनेको होङसी शिवम सिमेन्ट प्राइभेट लिमिटेडले नपाली बैंङ्कबाट धमाधम ऋण उठाएको छ । कर्मचारी संचय कोषले होङसी शिवम सिमेन्टको उत्पादन क्षमता विस्तार गर्न २ अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएको छ ।

कोषले एनएमबी बैंङ्कसंग सहवित्तीयमार्फत सो रकम लगानी गर्न लागेको हो । कारखानाको क्षमता विस्तारका लागि २ अर्ब रुपैयाँ ऋण माग भएकाले लगानी गर्न लागिएको कोषका प्रशासक तुलसी गौतमले बताए । उनले उद्योगमा लगानी गर्ने जानकारी दिए । होङसीमा नेपाली बैंङ्कले १६ अर्ब रुपैयाँ ऋण लगानी गर्नेमा कोषको पनि सहभागिता हुने भएको छ ।

कोषको अतिरिक्त एनएमबीको अगुवाइमा नेपाल इन्भेष्टमेन्ट बैंङ्क, प्रभु बैङ्क, एभरेष्ट बैंङ्क र नेपाल एसबीआई बैंकले ऋण लगानी गर्ने सम्झौता भइसकेको छ । कोषपछि सामेल हुन लागेको हो ।उद्योगमा कोषका अतिरिक्त एनएमबीको ६ अर्ब ७५ करोड, नेपाल इन्भेष्टमेन्टको ४ अर्ब, प्रभुको ३ अर्ब, एभरेष्टको १ अर्ब २५ करोड र एसबीआईको १ अर्ब रुपैयाँ ऋण लगानी हुने छ ।

७ वर्ष अवधि रहेको कर्जाको सुरक्षण जमानत बैंङ्क अफ चाइना र मिङसेङले दिएका छन । उद्योगले चीनबाट लगानी ल्याउने भने पनि उसले नेपाली वित्तीय संस्थाबाट कर्जा लिन थालेको छ । बैंङ्कले थप लगानी गरेपछि होङसी शिवमको उत्पादन क्षमता दोब्बर बढेर दैनिक १२ हजार टन पुग्ने छ । हाल उद्योगले दैनिक ६ हजार टन अर्थात १ लाख २० हजार बोरा सिमेन्ट उत्पादन गरिरहेको छ । गत जेठदेखि उद्योगले सिमेन्ट उत्पादन थालेको हो ।

उद्योगले नवलपरासीमा सिमेन्ट कारखाना स्थापनाको लागि ३६ अर्ब ७५ करोड रुपैयाँ ९करिब ३५ करोड ९१ लाख अमेरिकी डलर लगानी गरेको छ । तर उद्योगले चीनबाट १० अर्ब रुपैयाँ मात्र लगानी ल्याएको छ । चीनको होङसी सिमेन्ट ग्रुपको सहायक कम्पनी हङकङ रेडलायन सिमेन्ट ३ लिमिटेडको लगानी छ । कारखानामा नेपालको व्यवसायिक समूह शिव होल्डिङसको ३० र होङसीको ७० प्रतिशत स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ ।