वैदेशिक रोजगारीका लागि सूचनामूलक एप ‘शुभयात्रा’ को अनलाइन कक्षा

वैदेशिक रोजगारीमा जान चाहने नेपालीलाई लक्ष्य गरी शुभयात्राले नयाँ रिवार्ड योजना सुरु गरेको छ । दिइएका कोर्समा सहभागी भई एप प्रयोगकर्ताहरुले पचास रुपैयाँ वा बढी रिवार्ड प्राप्त गर्न सक्नेछन् ।

काठमाडौं । सुरक्षित वैदेशिक रोजगारीका लागि सूचनामूलक एन्ड्रोइड एप ‘शुभयात्रा’ले भर्खरै सुनौलो कक्षा नाम दिइएको निःशुल्क रुपमा भर्ना हुन सकिने विशेष अनलाइन कोर्स सुरु गरेको छ ।

यसमा स्वध्ययन गर्न मिल्ने खालका अन्तरक्रियात्मक सामग्री राखिएका छन् । साथै, वैदेशिक रोजगारीमा जान चाहने नेपालीलाई लक्ष्य गरी शुभयात्राले नयाँ रिवार्ड योजना सुरु गरेको छ । दिइएका कोर्समा सहभागी भई एप प्रयोगकर्ताहरुले पचास रुपैयाँ वा बढी रिवार्ड प्राप्त गर्न सक्नेछन् । शुभयात्राले रिवार्डका लागि खल्ती डिजिटल वालेटसँग सहकार्य गरेको छ ।

शुभयात्राको सुनौलो कक्षामा विदेशी भाषा, वित्तीय साक्षरता, रोजगार सम्झौता पत्र, सिपलगायत अन्य वैदेशिक रोजगारीसँग सम्बन्धित एक दर्जनभन्दा बढी कोर्स उपलब्ध छन् । एपमा उपलब्ध कुनै पनि कोर्स पूरा गरिसकेपछि ५० रुपैयाँ वा बढीको रिवार्ड कुपन प्राप्त हुनेछ । हरेक कोर्सको अन्तिममा दिइएको क्विज पुरा गरिसकेपछि प्रमाण पत्र र थप रिवार्ड कुपन प्राप्त गर्न सकिनेछ ।

‘नेपालमा कुनै पनि ई–लर्निङ प्लेटफर्मले अनलाइनमा उपलब्ध कोर्समा सहभागीहरुलाई यसरी रिवार्ड कुपन र अन्य उपहार प्रदान गर्न थालेको यो पहिलो पटक हो,’ द एसिया फाउन्डेसनकी नेपाल प्रतिनिधि मेघान नाल्बोले भनिन्, ‘नेपालमै पहिलो पटक यस्तो तरिकाले रिवार्ड योजना सुरु गर्न पाउँदा हामी उत्साहित छौँ ।’

सुनौलो कक्षामा उपलब्ध कुनै पनि कोर्स पूरा गरिसकेपछि आफ्नो मोबाइल नम्बर दाखिला गरेर रिवार्ड कुपन प्रयोग गर्न सकिनेछ । विदेशमा रहेका सहभागीले नेपालमा रहेका आफ्ना आफन्तहरुको मोबाइल नम्बर दाखिला गरी उक्त कुपन प्रयोग गर्न सक्नेछन् ।

धेरै नेपाली जाने देशहरू मलेसिया, कतार, साउदी अरेबिया, यूएई र कुवेतबारे सम्पूर्ण जानकारीहरू राखिएको यस एपले विदेश जाने सोचिरहेकाहरुलाई कसरी सुरक्षित तरिकाबाट जाने भनेर सचेत गराउने, विदेश जानका लागि कागजपत्रहरु बनाइरहेकाहरुलाई राम्रोसँग कागजपत्र बनाउन तथा ठगीबाट जोगिने तरिका सिकाउने, तथा विदेशबाट नेपाल फर्किन चाहानेहरूलाई नेपाल फर्किएर व्यापार व्यवसाय गर्न के गर्ने तथा अवसरहरू कता खोज्ने भन्ने बारेमा जानकारी दिन्छ ।

शुभयात्रा एपबारे
शुभयात्रा वैदेशिक रोजगारीमा जाने र जान चाहाने युवालाई सु–सूचित गराउनका लागि सञ्चालन गरिएको एउटा एन्ड्रोइड एप हो । विदेशमा रहेका नेपालीहरूको सहयोगमा ‘द एसिया फाउन्डेसन’ले सन् २०१६ मा सञ्चालनमा ल्याएको यो एपमा हाम्रो पात्रो, खल्ती डिजिटल वालेट, विकास उद्यमी, सेयरकास्ट इनिसिएटिभ र विकास उद्यमीलगायत सात ओटा संस्थाहरुको संयुक्त सहकार्य छ ।

एपमा विदेशमा काम गर्ने कामदारलाई आवश्यक पर्ने जानकारी सजिलै प्रयोग गर्न सकिने श्रव्य, दृश्य, फेसबुक लिंक तथा लिखित सामग्रीहरू राखिएका छन् । एपमा समावेश गरिएका सामग्री सबै नेपाली भाषामा राखिएका छन् ।

कसरी डाउनलोड गर्ने शुभयात्रा एप ?
शुभयात्रा एप एन्ड्रोइड मोबाइलका लागि तयार पारिएको हो । एन्ड्रोइड फोनको गुगल प्लेस्टोरमा गएर क्जगखबथबतचब टाइप गरेर अथवा वेबमा गएर धधध।कजगखबथबतचब।यचन मा क्लिक गरी शुभयात्रा एप डाउनलोड गर्न सकिन्छ ।