थप दुई हवाई प्रवेशविन्दुका लागि भारत सकारात्मक

अहिले नेपाल छिर्ने प्रवेशविन्दु सिमरा क्षेत्रमात्र रहेकोमा भारतले कम्तीमा थप दुई रुटका लागि अनुमति दिनका लागि गृहकार्य गरेको सँस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले जनाएको छ ।

अन्तर्राष्ट्रिय हवाई उड्डयनका लागि नेपाल छिर्ने रुट विस्तारका लागि भारतले स्वीकृति दिने सङ्केत गरेको छ । अहिले नेपाल छिर्ने प्रवेशविन्दु सिमरा क्षेत्रमात्र रहेकोमा भारतले कम्तीमा थप दुई रुटका लागि अनुमति दिनका लागि गृहकार्य गरेको सँस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले जनाएको छ ।

अन्तर्राष्ट्रिय हवाई सेवाका लागि नेपाल भित्रिने थप रुटमा छलफल गर्न एक साताभित्र नेपाली अधिकारी भारत जाँदैछन् । एयर रुट तथा इन्ट्री प्वाइन्ट थप गर्नका लागि नेपाल सरकारले भारतलाई पटक पटक अनुरोध गर्दै आइरहेको छ । पर्यटनमन्त्री जितेन्द्रनारायण देवले नेपालको अनुरोधलाई भारतले सकारात्मक रुपमा लिएको र त्यसका लागि छलफलमा बस्न तयार रहेको बताए । नेपालले धेरैअघिदेखि इन्ट्री प्वाइन्ट विस्तारका विषयमा भारतलाई जानकारी गराइरहेको र अहिले फेब्रुअरीमा बैठक हुने विषयमा भारतले जानकारी दिएको उनले बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने सबै अन्तर्राष्ट्रिय विमानहरु अहिले सिमराको आकाश हुँदै नेपाल प्रवेश गर्ने गर्छन् । एउटा मात्र प्रवेशविन्दु भएकाले रुट लामो र आकाशमा ट्राफिक जामको समस्या बढ्दै गएकाले सरकारले रुट विस्तारका लागि भारतको अनुमति माग्दै आइरहेको छ ।

मन्त्रालयले रुट विस्तारका लागि पूर्वबाट जनकपुर वा विराटनगरमध्ये एक र पश्चिमबाट महेन्द्रनगर, भैरहवा वा नेपालगन्जमध्ये कम्तीमा दुईओटा रुटका लागि अनुमति मागेको हो ।

प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले भारतसँग नेपाल प्रवेश गर्ने नयाँ तीनओटा प्रवेशविन्दुका विषयमा छलफल भैरहेको बताए । ‘हामीले पूर्व र पश्चिम दुवै क्षेत्रमा थप रुट विस्तारका लागि भारतलाई प्रस्ताव गरेका छौं’, उनले भने, ‘हामीले गरेको प्रस्तावका विषयमा भारतको नियमन निकाय सकारात्मक छ ।’

‘यहि विषयमा कुरा गर्न हामी दुईसाताभित्र भारतको कलकत्ता जाँदैछौं’, उनले भने । उपमहानिर्देशकको नेतृत्वमा नेपाली टोली भारतको एयरपोर्ट प्राधिकरणसँग बैठक बस्ने तयारी भैरहेको उनले जानकारी दिए ।

गएको साता सिङ्गापुरमा भइरहेको हवाई प्रदर्शनीमा समेत महानिर्देशक गौतमले भारतीय पत्रकारसँग थप रुटका विषयमा कुरा उठाएका थिए । ‘हामी भारतीय प्राधिकरणसँग छलफल गरिरहेका छौं र यसै वर्ष हवाई मार्गका लागि अनुमोदन प्राप्त गर्ने आशा गरेका छौं’, उनले भने ।