एलजी कम्पनीले गृह देश कोरियामै फोन उत्पादन बन्द गर्दै

एलजीले अन्य क्षेत्रमा नाफा कमाइरहेपनि मोबाइलबाट भने २०१८ को दोस्रो चौमासिकमा उसले १७ करोड २० लाख डलर बराबरको घाटा बेहोरेको थियो ।

एजेन्सी । दक्षिण कोरियाको प्रख्यात इलेक्ट्रोनिक्स तथा फोन निर्माणकर्ता कम्पनी एलजीले गृहदेशमा नै निर्माण सेवा बन्द गर्ने भएको छ । समाचार संस्था योनहापलाई उद्रीत गर्दै रोयटर्स समाचार एजेन्सीले प्रकाशित गरेको समाचारअनुसार एलजीले उक्त सेवालाई गृहदेशमा बन्द गरेर भियतनामस्थित आफ्नो पूरानो शाखामै सार्ने भएको हो ।

कम्पनीको यस्तो कदमको पछाडीको कारण एलजी फोनको विक्रीमा कम्पनीले भोगिरहेको कठिनाई र स्मार्टफोन प्रतिस्पर्धामा पछाडी रहनु नै मूख्य मानिएको छ । एलजीले अन्य क्षेत्रमा नाफा कमाइरहेपनि मोबाइलबाट भने २०१८ को दोस्रो चौमासिकमा उसले १७ करोड २० लाख डलर बराबरको घाटा बेहोरेको थियो ।

कम्पनीको मोबाइल फोन विक्रीको अवस्था विश्वभरि नै गिर्दै गइरहेको छ । उसका अन्तिम दुई महत्वपूर्ण उत्पादित मोडलले पनि बजार लिन सकेको छैन र त्यसमाथि थप कम्पनीले सामसुङ, हुवावे र एप्पलजस्ता ठूला कम्पनीहरुसँग प्रतिस्पर्धा गर्नु परेको छ ।

रोयटर्सको समाचारअनुसार दक्षिण कोरियामा रहेको कम्पनीको फोन फ्याक्ट्रीमा एलजी जी ८ थिन्क र आउँदै गरेको भी ५० थिन्कजस्ता प्रिमियम मोडलहरु उत्पादन हुने गरेका छन् जसले एलजीको समग्र स्मार्टफोन उत्पादनमा दशदेखि २० प्रतिशतसम्म ओगट्ने गरेको छ ।

गृहदेश र भियतनामबाहेक कम्पनीको चीन, ब्राजिल र भारतमा पनि निर्माण अड्डाहरु रहेका छन् । पछिल्लो विकासबारे कम्पनीले भने हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।