२०१९ को फेब्रुअरीको अन्त्यसम्म भारती एयरटेलका प्रयोगकर्ता ३४ करोड थिए भने सोही अवधिसम्म रिलायन्स जियोका प्रयोगकर्ता २९ करोड रहेको टीआरएआईको टेलिकम सब्सक्रिप्सन डेटा प्रतिवेदन २०१९ ले देखाएको छ ।
एजेन्सी । भारतको दोस्रो ठूलो दूरसञ्चार कम्पनीका रुपमा भारती एयरटेलको स्थान लिन अब मुकेश अम्बानीको रिलायन्स जियो केही इन्च मात्र पछाडि छ । टीआरएआईको पछिल्लो तथ्याङ्कले देखाएअनुसार प्रयोगकर्ताका आधारमा देशकै दोस्रो ठूलो दूरसञ्चार कम्पनी भारती एयरटेललाई रिलायन्स जियोले झिनो अन्तरले पछ्याई रहेको छ ।
२०१९ को फेब्रुअरीको अन्त्यसम्म भारती एयरटेलका प्रयोगकर्ता ३४ करोड थिए भने सोही अवधिसम्म रिलायन्स जियोका प्रयोगकर्ता २९ करोड रहेको टीआरएआईको टेलिकम सब्सक्रिप्सन डेटा प्रतिवेदन २०१९ ले देखाएको छ ।
तर, यो तथ्याङ्कलाई जियोले चाँडै उल्टाउने देखिन्छ । किनभने २०१८ को सुरुबाट नै जियोले आफ्ना युजरबेस तीव्ररुपमा बढाइरहेको छ भने भारती एयरटेललगायत अन्य कम्पनी यो मामिलामा पछि देखिएका छन् । सो अवधिभर भारती एयरटेलले समग्र टेलिफोन सब्सक्राइबरहरुको सङ्ख्या १.२६ लाखले बढाएको थियो भने त्यही अवधिमा रिलायन्स जियोले १.७१ करोड सब्सक्राइबर्स सङ्ख्या बढाएको थियो ।
यसैबीच रिलायन्स जियोले आफ्नो २०१९ को जनवरीदेखि मार्चसम्मको चौमासिक परिणाम सार्वजनिक गरेको छ । जसमा उसले मार्चको अन्त्यसम्म ३०.७ करोड प्रयोगकर्ता बढाएको उल्लेख गरेको छ भने भारती एयरटेलले आफ्नो परिणाम सार्वजनिक गर्न बाँकी छ र उसले आगामी मे ६ मासार्वजनिक गर्ने बताएको छ ।
यस्तै टीआरएआईको मार्चको तथ्याङ्क पनि हालसम्म बाहिर आएको छैन । गत डिसेम्बरको अन्त्यसम्मको भारती एयरटेलको युजरबेसको रिपोर्ट रिलायन्स जियोको सब्सक्राइबर्स फिगरसँग तुलना गर्न नमिल्ने छ ।
भारती एयरटेलले बताएअनुसार डिसेम्बरको अन्त्यसम्म उसको मोबाइल सब्सक्राइबर्सको सङ्ख्या २८.४ करोड छ, जुन टीआरएआईले सार्वजनिक गरेको त्यसअघिको फिगरभन्दा कम देखिन्छ । यसको पछाडिको कारण भने अक्टोबर–डिसेम्बर २०१८ को फिगरमा एयरटेलले आय उत्पादन नगर्ने पाँच करोड सब्सक्राइबर्सको सङ्ख्या हटाइएको थियो जुन टीआरएआईले उसको तथ्याङ्कमा उल्लेख गरेको छैन ।
भारती एयरटेलले भनेको छ, ‘हामीले हाम्रो कस्टमर बेस मापनलाई संशोधन गरेका छों, ताकि कारोबार र आय उत्पन्न गराउने सब्सक्राइबर्सलाई मात्र अटाउन सकियोस् ।’
यस्तै भीएलआर सब्सक्राइबर्सका आधारमा हेर्ने हो भने भारती एयरटेल यसमा ९६ प्रतिशतसहित अगाडि देखिन्छ र जियोको भीएलआर भने ८४ प्रतिशतभन्दा माथि भएको २०१९ को फेब्रुअरीमा टीआरएआईको तथ्याङ्कले देखाएको छ । भीएलआर भनेको एक्टिभ वायरलेस सब्सक्राइबरहरुको सङ्ख्या मापन गर्ने मेट्रिक हो ।
यही रिपोर्टले प्रमुख दूरसञ्चार सञ्चालकहरुको बजार हिस्सालाई पनि देखाएको छ । जहाँ भोडाफोनको सबैभन्दा बढी ३५.५८ प्रतिशत, भारती एयरटेलको २८.७५ र त्यसभन्दा केही पछि रहेको रिलायन्स जियोको २५.११ प्रतिशत रहेको २८ फेब्रुअरी २०१९ मा प्रकाशित रिपोर्टले देखाएको छ ।