अब नेपालमा चाइना बैङ्कको आवश्यकता छ- चेम्बर अध्यक्ष श्रेष्ठ

चीन भ्रमणमा रहेका अध्यक्ष श्रेष्ठले चीनको बेइजिङमा चाइना – नेपाल इकोनोमिक एन्ड ट्रेड फोरमको एक्स्प्लोरिङ इन्भेष्टमेन्ट अपरच्युनिटी इन नेपाल नामक गोष्ठिमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध प्रवर्ध्दनका लागि विभिन्न प्रकारका कार्य चेम्बरले गर्दै गरेको बताए ।

काठमाडाैं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध प्रवर्ध्दनमा नेपाल चेम्बरको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् । चीन भ्रमणमा रहेका अध्यक्ष श्रेष्ठले चीनको बेइजिङमा चाइना – नेपाल इकोनोमिक एन्ड ट्रेड फोरमको एक्स्प्लोरिङ इन्भेष्टमेन्ट अपरच्युनिटी इन नेपाल नामक गोष्ठिमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध प्रवर्ध्दनका लागि विभिन्न प्रकारका कार्य चेम्बरले गर्दै गरेको बताए । कार्यक्रममा उनले चीनका लागि नेपाल लगानीको उत्कृष्ट गन्तव्य भएको पनि बताए ।

चीनको बेइजिङमा आइतबार बिहान भएको गोष्ठीमा अध्यक्ष श्रेष्ठले नेपालमा लगानीको वातावरणका लागि जलविद्युत्, पर्यटनलगायत क्षेत्र रहेको जानकारी दिँदै विश्व सम्पदा सूचीमा रहेका विभिन्न स्थान, विभिन्न वन्यजन्तु तथा आरक्षण क्षेत्रहरु, कृषि, पर्याप्त जडिबुटी, जलवायु परिवर्तन भएका स्थान, खुला जमिनका कारणले नेपालमा लगानी गर्न सकिने वातावरण भएको उल्लेख गरे । उनले नेपालमा अनुभवी एवम् कडा परिश्रमी श्रमिक तथा खनिज क्षेत्र रहेकाले लगानीको लागि अघि बढ्न चीनलाई आग्रह गरे । अध्यक्ष श्रेष्ठले चीनसँगको व्यापरिक सम्झौता रहनुका साथै शून्य प्रतिशत भन्सारदरमा ८ हजार ३० वस्तुको निर्यात गर्न सकिने वस्तु रहेको चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

गोष्ठीमा आफ्ना कुरा राख्दै अध्यक्ष श्रेष्ठले नेपालमा केही समयदेखि स्थायी सरकार, २४सै घण्टा विद्युत् तथा लगानीमैत्री नीतिहरुले सुनिश्चित लगानीको वातावरण भएकाले लागानीका लागि चीनलाई उपयुक्त वातावरण रहेको बताए । भारतसँग भएको सम्झौताले भारतमा निर्वाधरुपमा शून्य भन्सारदरमा मालवस्तु निर्यात गर्न पाउने भएकाले चीनका लागि पनि लगानीको वातावरण उपयुक्त हुने उनले बताए । उनले सामान्य ग्राह्यता प्रणालीअनुसार अमेरिका, युरोपियन युनियनजस्ता मुलुकहरुमा शून्यदर निर्यातको सुविधा प्राप्त भएको जानकारी दिए ।

अध्यक्ष श्रेष्ठले नेपालमा चिनियाँ पर्यटन बढाउन चीनको बेइजिङ, साङ्घाई तथा गुन्जाओमा दिनको दुई ओटा उडान, कुन्मिङमा एक उडान तथा हङकङमा हप्ताको १० उडान तथा छेन्दुमा सातामा १६ उडान र ल्हासामा दैनिक उडान भएको बताए । यस्तै व्यापार प्रवर्ध्दनका लागि अब नेपालमा चाइना बैङ्कको आवश्यकता भएको उनकाे भनाइ थियो ।

नेपाल र चीनको सम्बन्ध बढाउन जनस्तरमा व्यवसायीबीच बहुपक्षीय सम्बन्धका लागि चेम्बरले विभिन्न प्रकारका रचनात्मक भूमिका खेलेको धारणासमेत राखे ।