कालीगण्डकी करिडोरको स्तरोन्नति गर्न बजेट अभाव

करिडोरकोे स्तरोन्नति गरी १० मिटर फराकिलो बनाउन आवश्यक पर्ने ६० करोड रुपैयाँ अभाव भएकाले निर्माण कार्य सुस्ताएको छ ।

नेपाललाई भारत र चीनसँग जोड्ने त्रिदेशीय ‘लाइफ लाइन’ को रुपमा रहेको कालीगण्डकी करिडोरमा बजेट अभाव भएको छ । करिडोरकोे स्तरोन्नति गरी १० मिटर फराकिलो बनाउन आवश्यक पर्ने ६० करोड रुपैयाँ अभाव भएकाले निर्माण कार्य सुस्ताएको छ ।

नेपाली सेनाले निर्माणको जिम्मा लिएर निर्धारित समयमै सम्पन्न गरेको उक्त ट्रयाकमा गत असोजदेखि यातायात सञ्चालनमा आएका छन् । चीनको कोरलादेखि भारतको सुनौली नाकासम्म जोडिने उक्त खण्डमा अहिले ट्रयाक सम्पन्न भएर स्तरोन्नतिको काम बजेट अभावले रोकिएको हो ।

करिडोरको बागलुङ खण्डमा ३५ करोड र गुल्मी खण्डमा २५ करोड आवश्यक पर्ने कालीगण्डकी करिडोर निर्माण कार्यदलका प्रमुख सेनानी इन्जिनियर रेश्मीराज भट्टराइले बताए । ‘बागलुङ र गुल्मी खण्डमा गरी ६० करोड रुपैयाँ आवश्यक छ’ उनले भने, ‘त्यसका लागि स्थानीय जनप्रतिनिधिहरुले पहल गर्नुपर्छ ।’ उनले करिडोरको गुल्मी खण्डमा आवश्यक पर्ने बजेटका लागि स्थानीय जनप्रतिनिधिहरुले पहल गरेपनि बागलुङ खण्डमा भने बजेट निकासामा जनप्रतिधिको पहल हुन नसकेको बताए ।

झन्डै ८५ करोड रुपैंया खर्चेर निर्माण सम्पन्न गरिएको करिडोर यस क्षेत्रको पर्यटन, कृषि र उत्पादनका क्षेत्रका कोशेढुङ्गा मानिएको छ । छिमेकी दुई देश जोड्ने कालीगण्डकी करिडोर सबैभन्दा छोटो दुरीको सडक खण्ड हो । चीनको कोरलादेखि भारतको सुनौलीसम्मको दुरी ४ सय ३५ किमी छ । अहिले रिडीदेखि बागलुङको मालढुङ्गासम्मको ट्रयाक स्तरोन्नति गर्ने काम बाँकी छ ।

करिडोरको बागलुङ खण्डको स्तरोन्नतिमा लाग्ने झन्डै २५ करोड रुपैयाँबराबरको बजेट निकासाका लागि माग गरिएको फाइल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट स्वीकृत भइ अर्थ मन्त्रालयमा पुगेको बागलुङका पूर्व सांसद प्रकाश शर्मा पौडेलले बताए । ‘२५ करोड रुपैयाँ निकासाका लागि अर्थ मन्त्रालयमा फाइल पुगेको छ,’ उनले भने, ‘त्यसका मैले पहल गरिरहेको छु ।’

पछिल्लो समय जिम्मेवारी पूरा गरेको भन्दै स्तरोन्नतिको जिम्मा पनि नेपाली सेनालाई नै दिन स्थानीयले माग गरेका छन् ।