पश्चिम दाङमा दुई करोडको कृषि फार्म

मङ्गलबार महाशिवरात्रिको अवसर पारी तुलसीपुर–८, अश्वारामा रहेको शिवमाया बहुउद्देश्यीय कृषि फार्मको उद्घाटन गरिएको हो ।

पश्चिम दाङमा दुई करोड रुपैयाँभन्दा बढीको लगानीमा कृषि फार्म उद्घाटन गरिएको छ ।

मङ्गलबार महाशिवरात्रिको अवसर पारी तुलसीपुर–८, अश्वारामा रहेको शिवमाया बहुउद्देश्यीय कृषि फार्मको उद्घाटन गरिएको हो ।

विशेष गरी स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न केराबाट उत्पादित चिप्स, अचार र विभिन्न परिकारका नमकिन उत्पादन गर्न सुरु गरेको फार्मले मङ्गलबारदेखि औपचारिकरुपमा आफ्ना उत्पादन बजारमा ल्याउन सुरु गरेको छ ।

तुलसीपुरको उत्पादनलाई देशभरका बजारमा लैजानका लागि आफूहरुले फार्म सञ्चालन गरेको सञ्चालक भागवत कमलापुरीले जानकारी दिए । स्थानीय कृषकको उत्पादनलाई आफ्नो फार्ममा खपत गरेर उपभोक्ताको घरसम्म लैजान आफूहरुले भूमिका खेल्नेसमेत उनले बताए ।

साना तथा मझौला कृषि आयस्तर वृद्धि आयोजना (रिजम)का निर्देशक गोकर्णराज अर्यालले एक कार्यक्रमबीच फार्मको उद्घाटन गरेका हुन् । सो अवसरमा अर्यालले यस्ता उद्योगले स्थानीय कृषकको आयस्तर वृद्धि गर्न टेवा पुग्ने बताए ।

रासस