जगदिशपुर ताल नजिकै होमस्टे सञ्चालन

कपिलवस्तुमा रहेका बुद्धसँग सम्बन्धित ऐतिहासिकस्थल तिलौराकोट दरबार, कुदान, गोटिहवा, निगालीकोटलगायतका पर्यटकीय क्षेत्र तथा जगदिशपुर तालमा रहेका चरा हेर्न आउने पर्यटकलाई मध्यनजर गर्दै होमस्टे सञ्चालन गरिएको हो ।

होमस्टे (घरबास) प्रति पर्यटकको आकर्षण बढ्दै गएपछि कपिलवस्तु जिल्लामा पनि पहिलो पटक होमस्टे सञ्चालनमा ल्याइएको छ ।

कपिलवस्तु नगरपालिका–९, जगदिशपुरमा पहिलो पटक थारु समुदायले होमस्टेको सुरुआत गरेका हुन् ।

कपिलवस्तुमा रहेका बुद्धसँग सम्बन्धित ऐतिहासिकस्थल तिलौराकोट दरबार, कुदान, गोटिहवा, निगालीकोटलगायतका पर्यटकीय क्षेत्र तथा जगदिशपुर तालमा रहेका चरा हेर्न आउने पर्यटकलाई मध्यनजर गर्दै होमस्टे सञ्चालन गरिएको हो ।

नेपालकै सबैभन्दा ठूलो मानव निर्मित तथा विश्व सिमसार क्षेत्रमा सूचीकृत जगदिशपुर ताल नजिकै रहेको जगदिशपुर गाउँमा जगदिशपुर जलाशय घरबासको सुरुआत गरिएको हो ।

तेह्र घरधुरीबाट सुरु गरिएको होमस्टेमा अहिलेसम्म २०० भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आएको जगदिशपुर जलाशय होमस्टेका सचिव सरिता थारुले बताइन् । होमस्टेमा क्यानाडा, अमेरिका, श्रीलङ्का, चीनलगायत विभिन्न मुलुकका पर्यटक पुग्ने गरेका छन् ।

समूहलाई दर्ता गरेर व्यवस्थितरुपमा होमस्टे व्यवसाय सञ्चालन गर्ने योजना बनाइएको सचिव थारुले बताइन् । होमस्टेमा थारु जातिका लोकप्रिय खाना घोँगी, लोकल कुखुरा, ढिकरी, चिचर, खोरिया, हाँसको छोइला पाउने गरेको होमस्टे सञ्चालक बताउँछन् ।

रासस