सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले आफ्नो ६३औँ शाखा बर्दियाको बढैयाताल मैनापोखरी सञ्चालनमा ल्याएको छ । सोमबार यस बैङ्कका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले उक्त बैङ्किङ कारोबारको सुरुवात गरेका हुन् । उक्त समारोहमा जिल्लाका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न सङ्घसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाको उपस्थिति रहेको बैङ्कले जानकारी दिएको छ ।
सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले ग्राहकलाई देशैभरि फैलिएका बैङ्कका ६३ ओटा शाखा, ६२ ओटा एटीएम काउन्टर र ९७ ओटा शाखारहित आधुनिक बैङ्किङ सेवाबाट करिब तीन लाख ५० हजार ग्राहकलाई सेवा दिँदै आएको छ । बैङ्कले रेमिट्यान्स, ड्राफ्ट, भिसा एटीएम कार्ड, भिसा इन्टरनेसनल डलर कार्ड, विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधासहित रकम झिक्न र राख्न सकिनेलगायत सुविधा उपलब्ध गराउँदै आएको छ ।
कार्यक्रममा बैङ्कले जनप्रिय माध्यमिक विद्यालय र वागेश्वरी निम्नमाध्यमिक विद्यालयलाई एक÷एक थान कम्प्युटर सहयोग गरेको छ । बैङ्कका सहायक प्रमुख कार्यकारी अधिकृत देवकोटा र बढैयाताल गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले संयुक्त रुपमा कम्प्युटर हस्तान्तरण गरेका थिए । उक्त शाखाका इन्चार्ज दिनेशकुमार ढुङ्गानाले कृषि र पशुपालनमा लगानी गर्ने उद्देश्य रहेको जानकारी दिए ।