ह्वावेई विवादः फाइभ जीबारे सूचना चुहाएको भन्दै ब्रिटिश रक्षामन्त्रीलाई पदबाट हटाइयो

फाइभ जी भनेको मोबाइल इन्टरनेट कनेक्टिभिटीसम्बन्धी पछिल्लो पुस्ताको प्रणाली हो जसले डेटा डाउनलोड वा अपलोडमा निकै उच्च गति, तथा थप स्थिर प्रणालीको प्रत्याभूति गर्ने ठानिन्छ।

एजेन्सी । राष्ट्रिय सुरक्षा परिषद्को बैठकको सूचना चुहाएको आरोपमा ब्रिटिश रक्षामन्त्री गेभिन विलियम्सनलाई पदमुक्त गरिएको छ। प्रधानमन्त्री टरिजा मेका अनुसार उनले सूचना चुहाएकोबारे बलिया प्रमाण फेला परेका र उनले छानबिनमा समेत असहयोग गरेका थिए।

विलियम्सनले सबै आरोप अस्वीकार गरेका छन्। उनले आफूलाई बिनाप्रक्रिया हठात् पदबाट हटाइएको बताए। प्रधानमन्त्री कार्यालयका अनुसार पेनी मोर्डन्टले रक्षामन्त्रीको भूमिका निर्वाह गर्नेछन्।

विपक्षी दलहरूले उनले आधिकारिक गोपनीयतासम्बन्धी कानुन उल्लङ्घन गरेकोबारे उनीविरुद्ध आपराधिक छानबिन हुनुपर्ने माग गरेका छन्। उक्त राष्ट्रिय सुरक्षा परिषद्को बैठकले चिनियाँ कम्पनी ह्वावेईलाई ब्रिटेनको फाइभ जी नेटवर्क निर्माणमा सहभागी गराउने कि नगराउने भन्ने विषयमा छलफल गरेको थियो।

कस्तो सूचना चुहाइएको थियो ?

प्रधानमन्त्री टरिजा मेले अध्यक्षता गरेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा फाइभ जी भनिने पछिल्लो पुस्ताको सञ्चार प्रणालीका निम्ति ह्वावेईका उपकरण प्रयोग गर्न दिने कि नदिनेबारे छलफल हुँदै थियो। परिषद्को निर्णयबाट राष्ट्रिय सुरक्षामा दीर्घकालीन असर पर्न सक्थ्यो। तर बैठकमा भएको छलफलको विषय सञ्चारमाध्यममा चुहियो।

राष्ट्रिय सुरक्षामा खतरा पुग्न सक्ने सम्भावनाबारे आएका चेतावनीमाझ यूकेले ह्वावेईलाई ब्रिटेनको नयाँ फाइभ जी नेटवर्क सञ्चालन गर्न सीमित पहुँच दिएको विवरण गत साता द डेली टेलिग्राफले छापेको थियो।

ब्रिटेनको निजामती सेवाका प्रमुख तथा राष्ट्रिय सुरक्षा सल्लाहकार सर मार्क सेड्विलले ह्वावेईबारे भएको छलफलको जानकारी चुहिएकोबारे सोधपुछमा सहयोग गर्न मन्त्रीहरूलाई आह्वान गरेका थिए।

सर सेड्विलले परिषद्मा सहभागी मन्त्रीहरू तथा तिनका सल्लाहकारहरूलाई त्यसबारे पत्र लेखेका थिए। ह्वावेईलाई अनुमति दिने निर्णयको विरोधमा आवाज उठाएका भनिएका पाँच मन्त्रीमा धेरैको ध्यान केन्द्रित भएको थियो। तर उनीहरूले आफू दोषी नभएको जनाउ सार्वजनिक रूपमा वा आफ्ना सहयोगीमार्फत् दिएका थिए।

किन ह्वावेईसम्बन्धी विवाद ?

ह्वावेई विश्वको एउटा प्रमुख दूरसञ्चार उपकरण र सेवाप्रदायक कम्पनी हो। सो चिनियाँ कम्पनीलाई महत्त्वपूर्ण भूमिका दिँदा ब्रिटेनको दूरसञ्चार सञ्जाल जासुसी गर्नेहरूका लागि खुला हुन सक्ने चिन्ता केहीले व्यक्त गरेका छन्।
तर ह्वावेईले भने उसका उपकरण र प्रणालीमा जासुसी वा ध्वंस हुने कुनै खतरा नरहेको दाबी गरेको छ। आफूलाई चिनियाँ सरकारले नियन्त्रण नगर्ने पनि उसले बताएको छ।

अमेरिका, अस्ट्रेलिया, न्यूजिल्यान्ड र अन्य देशले सुरक्षाको कारण देखाउँदै आफ्ना दूरसञ्चार कम्पनीहरूलाई फाइभ जी सञ्चालनमा ह्वावेईका उपकरण प्रयोग गर्न रोक लगाएका छन्। अमेरिकाले आफ्ना राष्ट्रिय सुरक्षाबारे चासो रहेको भन्दै ह्वावेईका उत्पादनमाथि प्रतिबन्ध लगाएको थियो।

के हो फाइभ जी ?

फाइभ जी भनेको मोबाइल इन्टरनेट कनेक्टिभिटीसम्बन्धी पछिल्लो पुस्ताको प्रणाली हो जसले डेटा डाउनलोड वा अपलोडमा निकै उच्च गति, तथा थप स्थिर प्रणालीको प्रत्याभूति गर्ने ठानिन्छ।

हाल प्रयोगमा आएका स्पेक्ट्रम ब्यान्ड भनिने इन्टरनेटसम्बन्धी डेटा मार्ग निकै साँघुरो हुन थालेको र एकै क्षेत्रमा धेरै मानिसले एकै पटक कुनै सेवा लिन चाहेमा प्रणालीले काम गर्न नसक्ने अवस्था उत्पन्न हुने गरेको छ।

जबकी फाइभ जी प्रणाली भने फोनदेखि भिडिओ क्यामेरादेखि स्मार्ट सडक बत्तीजस्ता हजारौँ उपकरणलाई एकै पटक व्यवस्थापन गर्न थप सक्षम छ। विद्यमान फोर जी नेटवर्कले इन्टरनेटमा औसतमा ४५ एमबीपीएस गति दिन्छ। विज्ञहरू भन्छन् फाइभ जी (जुन प्रणाली यसै वर्षदेखि ब्रिटेनमा लागु हुँदैछ) ले चाहिँ त्यो भन्दा २० गुणा धेरै गति दिन्छ। बीबीसी