उखु उत्पादन घट्यो, चिनीमा परनिर्भरता बढ्यो

चार वर्षको उखु उत्पादन तथ्याङ्कलाई विश्लेषण गर्दा यो अवधिमा उत्पादन ६ लाख ९५ हजार ९ सय ३९ टनले कमी आएको छ ।

 

किसानलाई उखु खेतीमा आकर्षित गर्न नसक्दा हरेक वर्ष उत्पादन घट्दै गएको छ । चिनी उद्योगले किसानलाई समयमै भुक्तानी नदिँदा किसान उखु खेतीबाट क्रमशः विस्थापित हुँदै गएका छन् । उखु उत्पादन घटेपछि चिनी आयात बढेको हो ।

पछिल्ला वर्ष उखु उत्पादन हेर्दा उत्पादन हरेक वर्ष घटेको घट्यै छ । चार वर्षको उखु उत्पादन तथ्याङ्कलाई विश्लेषण गर्दा यो अवधिमा उखु उत्पादन ६ लाख ९५ हजार ९ सय ३९ टनले कमी आएको छ । आर्थिक वर्ष ०७०/७१ मा ३३ लाख १५ हजार नौ सय ३९ टन उत्पादन भएकोमा आर्थिक वर्ष ०७३/७४ मा २६ लाख २० हजार टनमा सीमित छ । आर्थिक वर्ष ०७२/७३ मा २९ लाख ८८ हजार ४ सय १८ टन र आव ०७१÷७२ मा ३० लाख ६३ हजार टन उत्पादन भएको थियो ।

चालू आर्थिक वर्षमा पनि अपेक्षित रुपमा उत्पादन वृद्धि हुने सङ्केत देखिएको छैन । अहिले चिनी क्रसिङको सिजन सुरु भएपछि किसानले धमाधम उखु काटेर चिनी उद्योगमा पठाइरहेका छन् ।

विदेशबाट वार्षिक अर्बौं रुपैयाँको चिनी आयात गरे पनि किसानलाई उखुखेतीमा आकर्षित गर्न नसकेको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमणि मैनालीले बताउँछन् । ‘उखु किसानले उचित मूल्य र समयमा भुक्तानी नहुँदा खेतीबाट विस्थापित हुने क्रम छ,’ मैनालीले भने, ‘सरकारले किसानका माग सम्बोधन गर्नुपर्छ ।’ किसान उखु खेतीबाट विस्थापित भएकाले उत्पादन घट्दै गएको महासङ्घले जनाएको छ ।

उखु खेती गर्ने क्षेत्रफल घटेकाले पनि उत्पादन घटेको हो । आर्थिक वर्ष ०७०/७१ मा ७६ हजार आठ सय ६३ हेक्टरमा खेती भएकोमा आर्थिक वर्ष ०७३÷७४ मा आइपुग्दा ६७ हजार तीन सय ७२ हेक्टरमा खेती गरिएको थियो । चार वर्षको अवधिलाई विश्लेषण गर्दा उखु खेती ९ हजार ४ सय ९१ हेक्टर क्षेत्रफलमा कमी आएको छ ।

नेपालमा १३ चिनी उद्योग छन् । तर, माग थेग्ने गरी उत्पादन गर्न सक्दैनन् । मुुलुकको रौतहट, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, सुनसरी, नवलपरासी, कपिलवस्तु, कञ्चनपुरका किसानले उखु खेती गर्दै आएका छन् ।

नेपाल चिनी उद्योग सङ्घले गत आर्थिक वर्षमा करिब एक लाख २९ हजार मेट्रिक टन चिनी उत्पादन भएको जनाएको छ । यहाँ वार्षिक करिब दुई लाख ३० हजार मेट्रिक टन चिनी खपत हुन्छ । स्वदेशी उत्पादनले नपुग्ने करिब एक लाख टन चिनी विदेशबाट आयात हुन्छ । चिनीको मूल्य नियन्त्रण गर्न सरकारले न्यून भन्सार दरमा ५० हजार टन चिनी आयात गर्न साल्ट ट्रेडिङ कर्पोरेसनलाई अनुमति दिए पनि अन्य चिनी निजीक्षेत्रले ल्याएर बेच्ने गरेका छन् ।

विगत केही महिनादेखि चिनी उद्योगीले चिनी आयातमा लाग्ने भन्सार शुल्क ५० प्रतिशत वृद्धि गर्न माग गरेर सरकारलाई दबाब दिँदै आएका छन् । विदेशबाट आयात भएको चिनीसँग प्रतिस्पर्धा गर्न नसक्दा बिक्री चिनी उद्योग र उखु किसान मारमा पर्ने उनीहरुको दाबी छ । निजीक्षेत्रले ल्याउने चिनीमा सरकारले १५ प्रतिशत भन्सार महसुल लिने गरेको छ । चिनी आयात गरी बजारको सन्तुलन कायम गर्न सरकारले साल्ट टे«ेडिङ कर्पोरेसनलाई भने एक प्रतिशत भन्सार महसुलमा चिनी आयातको अनुमति दिँदै आएको छ ।