टिन हिरोको पाँचौं संस्करणको आवेदन आह्वान

कार्यक्रममा देशभरका किशोर किशोरीलाई सहभागी गराउने उद्देश्यका साथ ग्लोकल काठमाडौं उपत्यकालगायत देशभरका ३८ ओटा सहरमा पुग्ने बताइएको छ । प्रतिस्पर्धामा ६ सय विद्यालयमा कक्षा आठदेखि १२ सम्म अध्ययनरत ८० हजार विद्यार्थीलाई प्रस्पिर्धामा सहभागी गराउने ग्लोकलले बताएको छ ।

काठमाडौं । ग्लोकल प्रालिले यस वर्ष ‘वाई वाई ग्लोकल टिन हिरो’को पाँचौं संस्करण आयोजनाका लागि युवाहरुबाट आवेदन आह्वान गरेको छ । किशोर किशोरीमा भएको उत्साह, रचना, सृजनशीलता र नेतृत्व क्षमतालाई पहिचान गरी त्यसलाई राष्ट्रियस्तरमा प्रस्फुटन गर्ने अवसर प्रदान गर्ने उद्देश्यका साथ ग्लोकलले विगत पाँच वर्षदेखि यस्तो प्रतिस्पर्धात्मक कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।

कार्यक्रममा देशभरका किशोर किशोरीलाई सहभागी गराउने उद्देश्यका साथ ग्लोकल काठमाडौं उपत्यकालगायत देशभरका ३८ ओटा सहरमा पुग्ने बताइएको छ । प्रतिस्पर्धामा ६ सय विद्यालयमा कक्षा आठदेखि १२ सम्म अध्ययनरत ८० हजार विद्यार्थीलाई प्रस्पिर्धामा सहभागी गराउने ग्लोकलले बताएको छ ।

प्रतियोगितामा सहभागी सम्पूर्ण आवेदकहरुको अन्तर्वार्ता र दस्तावेजको समीक्षाका आधारमा ग्लोकल २० अन्डर २० को चयन हुनेछ र उनीहरुको काम र प्रभावका आधारमा उत्कृष्ट ६ को छनोट भई अन्तिम चरणमा व्यक्तित्व मापदण्ड, विषय ज्ञान र दूरदर्शनको मापन गरी सात सदस्यीय जुरीले अन्तर्वार्ताद्वारा २०१९ को विजेता चयन गर्ने छ ।

ग्लोकलकी पीआर व्यवस्थापक तथा वाइ वाइ टिन हिरोकी संयोजक काजोल झा ठाकुरले किशोरकिशोरीहरुले विभिन्न प्रसिद्ध तथा प्रतिष्ठित सङ्घसंस्थामा आबद्ध भई त्यसका माध्यमबाट आफ्नो प्रतिभा र कला प्रदर्शन गर्ने मौका पाइरहेको देख्दा आफूलाई खुसी लागेको बताइन् ।

यस वर्ष चौधरी ग्रुपको वाइ वाइले प्रतिस्पर्धालाई प्रायोजन गर्नेछ । प्रतियोगिताको फिनाले १ सेप्टेम्बर २०१९ मा हुनेछ । ग्लोकलले मे ४ बाट आवेदन खुला गर्नेछ । इच्छुकले www.nepal.glocalteenhero.comमा निःशुल्क अनलाइन फर्म भन्न सक्नेछन् ।

यसअघि वर्ष २०१५, २०१६, २०१७ र २०१८ मा क्रमशः नवलपरासीकी १७ वर्षीया बाल अधिकार अभियन्ता विपना शर्मा तथा युवा वैज्ञानिक सन्तोष लामिछाने, दाङका १८ वर्षीय सामाजिक कार्यकर्ता सचिन डाँगी र रुकुमकी १७ वर्षीया सामाजिक कार्यकर्ता प्रशंसा केसी विजयी भएका थिए ।