बागलुङमा आईएमई लाइफ इन्स्योरेन्सको शाखा

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बागलुङमा शाखा विस्तार गरेको छ । बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागार्ईंले उक्त शाखाको उद्घाटन गरेका छन् । उक्त अवसरमा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रबन्ध निर्देशक हेमराज ढकाल, कम्पनीको सञ्चालक समितिका अध्यक्ष रामहरि अर्याललगायत पदाधिकारीको उपस्थिति थियो ।

कार्यक्रममा बिमा समितिका अध्यक्ष चापागार्ईंले भर्खरै स्थापित कम्पनीले जीवन बिमाका माध्यमबाट रोजगारी बढाउन ठूलो योगदान दिने हुनाले ग्राहकलाई चुस्त र सहज सेवालगायत लगानीकर्ताको हित तथा कर्मचारीको मनोवृत्तिमा ध्यान दिँदै कार्य गर्न सुझाव दिएका छन् । उक्त अवसरमा जीवन बिमा क्षेत्रको विकास र विस्तार गरी अग्रणी बिमा कम्पनीका रुपमा आईएमई लाइफ इन्स्योरेन्स कम्पनीलाई स्थापित गर्न सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरे ।

आईएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष ढकालले उद्योगी, व्यवसायी, कृषक, सर्वसाधारण, पर्यटनका साथै मेचीदेखि महाकालीसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईएमई समूहले छिटोछरितो, भरपर्दो एवम् विश्वसनीय सेवा प्रदान गर्ने उद्देश्यले आफूहरु लागिपरेको जानकारी दिए । साथै आन्तरिक एवम् बाह्य रेमिट्यान्स सेवा, बैङ्किङ, जीवन तथा निर्जीवन बिमा, पर्यटन प्रवद्र्धनका लागि केबलकार, अटोमोबाइल सेवा, जलविद्युत् उत्पादनजस्ता सेवा प्रदान गर्दै आएको उनले बताए । आफ्नो गृहजिल्लासमेत रहेको बागलुङमा आईएमई समूहले सुरु गरेका सेवा प्रदान गर्न पाएकोमा अध्यक्ष ढकालले प्रसन्नता व्यक्त गरे ।