बुटबल पावरले हिमाल पावरबाट पायो ६० करोड ३२ लाख नगद लाभांश

सन् २०२० को जुनदेखि खिम्ती आयोजनाको आधा स्वामित्व नेपाल विद्युत् प्राधिकरणमा आउने र हाल अमेरिकी डलरमा भएको विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) सम्झौता सकिने भएपछि सन् २०२१ देखि बीपीसीको लाभांशमा भारी गिरावट आउनेछ ।

काठमाडौं । बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी)ले हिमाल पावर लिमिटेडबाट नगद लाभांश पाएको छ । बीपीसीले हिमाल पावरबाट ६० करोड ३२ लाख ६४ हजार रुपैयाँ नगद लाभांश पाएको जानकारी दिएको छ ।

६० मेगावाटको खिम्ती जलविद्युत् आयोजना सञ्चालन गरिरहेको हिमालमा बीपीसीको १७ प्रतिशत स्वामित्व छ । हिमालबाट गत वर्ष ५४ करोड ५० लाख रुपैयाँ नगद लाभांश पाएको थियो । हिमालबाट बीपीसीले आगामी वर्ष मात्र यो रकमबराबरको लाभांश पाउनेछ । हिमालबाट प्राप्त लाभांश जोडेपछि बीपीसीले चालू आर्थिक वर्षको ९ महिनामा ७५ करोड ८ लाख रुपैयाँ नाफा गरेको छ ।

बीपीसीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनाको वित्तीय विवरणअनुसार विद्युत् बिक्रीबाट मात्र ५२ करोड ९७ लाख रुपैयाँ आम्दानी गरेको छ । सन् २०२० को जुनदेखि खिम्ती आयोजनाको आधा स्वामित्व नेपाल विद्युत् प्राधिकरणमा आउने र हाल अमेरिकी डलरमा भएको विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) सम्झौता सकिने भएपछि सन् २०२१ देखि बीपीसीको लाभांशमा भारी गिरावट आउने छ ।

पीपीएको म्याद सकिन लागेपछि हिमालले नयाँ पीपीएका लागि विद्युत् प्राधिकरणमा प्रस्ताव गरेको छ । हालसम्म नयाँ पीपीए दर तय भएको छैन ।