फरक दुई महोत्सव अब एउटै ब्यानरमा

बर्दिवास उद्योग वाणिज्य सङ्घ र नेपाल आदिवासी जनजाति समन्वय परिषद् महोत्तरीले संयुक्त आयोजनामा यही फागुन १५ देखि २५ गतेसम्म ११ दिने महोत्सव गर्न सहमति गरेपछि यस भेगका सर्वसाधारण उत्साहित भएका हुन् ।

महोत्तरीको बर्दिवासमा आयोजना हुने फरक/फरक दुई महोत्सव अब एउटै ब्यानरमा हुने भएपछि यस भेगमा उत्साह छाएको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घ र नेपाल आदिवासी जनजाति समन्वय परिषद् महोत्तरीले संयुक्त आयोजनामा यही फागुन १५ देखि २५ गतेसम्म ११ दिने महोत्सव गर्न सहमति गरेपछि यस भेगका सर्वसाधारण उत्साहित भएका हुन् ।

यसअघि पहिलो पटक गत माघ १३ गते बर्दिवास उद्योग वाणिज्य सङ्घले फागुन १६ देखि २६ गतेसम्म र नेपाल आदिवासी जनजाति समन्वय परिषद् महोत्तरीले फागुन ११ देखि १८ गतेसम्म छुट्टाछुट्टै महोत्सव आयोजन गर्ने निर्णय सार्वजनिक गरेका थिए ।

दुई संस्थाले छुट्टाछुट्टै महोत्सव आयोजना गर्दा यसको राम्रो प्रभाव नजाने आपूmहरुको सुझावपछि दुवै पक्ष संयुक्त आयोजनामा सहमत भएको बर्दिवास नगरपालिका–१ का वडाअध्यक्ष चुडामणि पोखरेलले बताए । यसले बर्दिवासवासीमा उत्साह छाएको पोखरेलको भनाइ छ ।

सबै पक्षको आग्रह र अनुरोधलाई सम्मान गर्दै आपूmहरु एउटै ब्यानरमा महोत्सव गर्न सहमत भएको दुवै संस्थाका अध्यक्षले बताएका छन् ।

‘हाम्रो उद्देश्य बर्दिवासको व्यापार, पर्यटन र कृषि क्षेत्रको प्रवद्र्धनमा जोड दिनु हो’, बर्दिवास उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रल्हाद क्षत्रीले भने, ‘जनजाति परिषद्ले पनि बर्दिवास नगरकै चिनारी विस्तारका लागि महोत्सव आयोजना गर्ने उद्देश्य बनाएको रहेछ, यी सबैको चासोका कुरा भएकाले संयुक्त रुपमा महोत्सव आयोजन गर्ने टुङ्गोमा पुगेका हौँ ।’

यसैगरी, जनजाति समन्वय परिषद्का जिल्ला अध्यक्ष महीकरण सिंह थारूले पनि महोत्सव संयुक्त ब्यानरमा आयोजना हुने बताएका छन् । दुईतिरको आयोजनाले स्थानीय मनोमालिन्य बढ्ने आशङ्का अब हटेकाले महोत्सव भव्य सफल हुने यहाँका बासिन्दाको भनाइ छ ।

रासस