पुनर्निर्माणका लागि ४१ हजार निर्माणकर्मी थपिँदै

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सार्वजनिक गरेको तीन महिने प्रगति समीक्षा तथ्याङ्कमा देशका ३२ जिल्लामा निर्माणकर्मी थप गर्न लागेको जनाइएको छ ।

भूकम्पपछिको निजी आवास पुनर्निर्माणका लागि फागुन मसान्तसम्म ४१ हजार निर्माणकर्मी थपिने भएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सार्वजनिक गरेको तीन महिने प्रगति समीक्षा तथ्याङ्कमा देशका ३२ जिल्लामा निर्माणकर्मी थप गर्न लागेको जनाइएको छ ।

विसं २०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षति भएका २ सय ८२ स्थानीय तहमा पुनर्निर्माणलाई थप प्रभावकारी बनाउन डकर्मी थप गर्न लागिएको प्राधिकरणले जनाएको छ । थपिने निर्माणकर्मीलाई पौष मसान्तदेखि तालिम सञ्चालन गरिरहेको र फागुन मसान्तसम्म जनशक्तिलाई पुनर्निर्माणमा खटाइने बताइएको छ । गत वर्ष विभिन्न सरकारी तथा गैरसरकारी निकायबाट गरी झन्डै ५४ हजार जनशक्तिलाई तालिम दिई पुनर्निर्माणमा खटाइएको जनाइएको छ ।

भूकम्पपछि बीचमा समय केही ढिला भएपनि पछिल्लो समय प्राधिकरणले निजी आवास पुनर्निर्माणको कामलाई तीव्रताका साथ अगाडि बढाइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहप्रवक्ता डा. भीष्मकुमार भुसालले जानकारी दिए । ‘पुनर्निर्माणको काम तीव्र रुपमा भइरहेको छ । पहिलो र दोस्रो किस्ता लिनेहरुको सङ्ख्या पनि थपिँदै जान थालेको छ ।’ उनले भने, ‘पुनर्निर्माणलाई गति दिन तालिमप्राप्त डकर्मीको व्यवस्थापन भइरहेको छ ।’ उनले नयाँ सरकारले पनि पुननिर्माणको कामलाई प्राथमिकतामा राखेकाले पनि पुनर्निर्माणमा ढिलाई नहुने बताए ।

प्राधिकरणका अनुसार, हालसम्म ९७ हजार ९ सय ८९ ओटा निजी आवास निर्माण सम्पन्न भइसकेका छन् भने ३ लाख १२ हजार ८ सय ६३ निर्माण हुँदैछन् । हालसम्म अनुदान सम्पन्न भएका ६ लाख ९२ हजार ६६ निजी आवासमध्ये ६ लाख ७९ हजार ७ सय २२ लाई पहिलो किस्ता, १ लाख ९४ हजार २ सय ९७ लाई दोस्रो किस्ता, ५० हजार ६ सय २२ आवासका लागि तेस्रो किस्ता वितरण गरिसकिएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।

दोस्रो किस्ता लिन निवेदन दिने बढे

त्यसैगरी दोस्रो र तेस्रो किस्ता भुक्तानीका लागि निवेदन दिनेहरुको सङ्ख्या बढेको देखिन्छ । हालसम्म २ लाख ६८ हजार ९ सय ७५ जनाले दोस्रो किस्ता, ७० हजार ३ सय ९६ जनाले तेस्रो किस्ताको भुक्तानीका लागि निवेदन दिएका छन् । प्राधिकरणले चैत मसान्तसम्मका लागि दोस्रो किस्ता लिने समयावधि तोकेपछि भुक्तानीका लागि निवेदन दिनेको सङ्ख्या ह्वात्तै बढेको देखिन्छ ।
भूकम्प अतिप्रभावित १४ जिल्ला र कम प्रभावित १८ जिल्लाका लागि ८ स्थानमा प्राधिकरणका जिल्ला कार्यालय स्थापना भएका छन् । कार्यालयहरुले स्थानीय सरकारसँग सहकार्य र समन्वय गरी काम अगाडी बढाउने जनाइएको छ । कम प्रभावित १८ जिल्लाका लागि दोस्रो किस्ता पाउने समयावधि तोकिएको सहप्रवक्ता भुसालले जानकारी दिए ।

अहिले निजी आवास पुनर्निर्माणका लागि झन्डै ५६ हजार कामदार भूकम्प प्रभावित जिल्लामा खटिएका छन् ।