नेपाल भारत फ्रेन्चाइज इन्भेस्टमेन्ट एक्स्पो बुधबारदेखि

एक्स्पोमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीले आफ्ना ब्रान्ड प्रदर्शन गर्नेछन् । एक्स्पोमा रिटेल, शिक्षा, फिटनेस, फेशन, खाद्य तथा पेय, रियल इस्टेट, प्रविधिलगायत विभिन्न व्यवसायका ब्रान्ड प्रदर्शन गरिनेछन् ।

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले भारतीय राजदूतावास र फ्रेन्चाइज इन्डियासँगको सहकार्यमा बुधबारबाट काठमाडौंमा नेपाल इन्डिया फ्रेन्चाइज इन्भेस्टमेन्ट एक्स्पो एन्ड कन्क्लेभको आयोजना गर्ने बताएको छ । दुई दिनसम्म चल्ने सो सम्मेलनको उद्घाटन भने प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार गर्नेछन् ।

नेपाल र भारतबीच आपसी सम्बन्ध विस्तार र उद्यमशीलताको प्रवद्र्धनमार्फत विभिन्न ब्रान्डहरुमा लगानी गर्ने अवसर सृजना गर्ने उद्देश्यले एक्स्पोको आयोजना गर्न लागिएको महासङ्घले जानकारी दिएको छ । एक्स्पोमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीले आफ्ना ब्रान्ड प्रदर्शन गर्नेछन् । एक्स्पोमा रिटेल, शिक्षा, फिटनेस, फेशन, खाद्य तथा पेय, रियल इस्टेट, प्रविधिलगायत विभिन्न व्यवसायका ब्रान्ड प्रदर्शन गरिनेछन् । सम्मेलनमा दुवै देशबाट करिब ६० ओटा ब्रान्ड समावेश हुने महासङ्घले बताएको छ ।

महासङ्घद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संस्थाकी अध्यक्ष भवानी राणाले उद्यमशीलतामा इच्छुक र व्यावसायिक अवसरहरुमा लगानी गर्न रुची भएका अन्तर्राष्ट्रिय ब्रान्डसँग सहकार्यको अवसर खोजिरहेकालाई ध्यानमा राखी यो सम्मेलन आयोजना गर्न लागेको बताइन् । यस्ता किसिमका सम्मेलनबाट विभिन्न आयातित प्रख्यात अन्तर्राष्ट्रिय ब्रान्ड नेपाल ल्याउन सकिने र यसले अहिले देखा परिरहेको व्यापार घाटामा दीर्घकालीन सकारात्मक प्रभाव छाड्ने बताइन् ।

उनले नेपालमा रहेका व्यवसायीहरुलाई अन्तर्राष्ट्रिय नेटवर्क बढाउनका लागि सहायता र सजिलो गेटवेको प्रारम्भ गर्न महासङ्घ सधैँ सहयोगका लागि तयार रहेको प्रस्ट पारिन् ।