पाल्पा । पाल्पा जिल्लाबाटै लोपोन्मुख अवस्थामा रहेको मादल बनाउने पेशा रामपुर नगरपालिका–८ कटहरटारका रामबहादुर गन्धर्वले सम्हालेका छन् । विगत १७ वर्षदेखि मादल बनाउने र बिक्री गर्ने रामबहादुरले स्याङ्जा तथा पाल्पाका विभिन्न स्थानमा मादल बोकेर पुर्याउने गरेका छन् ।
उनले भने, “पहिले बुबाले पनि यसै गरेर मादलसँग धान, चामल साटेर परिवार पाल्नुभयो, मैले त अहिले मादल बेचेर पैसा कमाएको छु ।” कास्कीको पोखराबाट मादल तयार गर्न काठ, छाला, घेरा, मुन्द्रा, डोरी, खरीलगायत आवश्यक समान किनेर ल्याउने र घरमै मादल तयार गर्ने गरेको उनको भनाइ छ ।
विभिन्न धार्मिक तथा शुभकार्य र रमाइलोका निम्ति प्रयोग हुने बाजामध्ये महत्त्वपूर्ण मानिने मादल तथा मृदुङ्गा तयार पारेर बिक्री गर्ने रामबहादुरले प्रतिमादल दुई हजार पाँच सयदेखि आठ हजार रूपैयाँसम्ममा बिक्री गर्ने गरेको बताए । बोरामा मादल बोकेर पैदल हिँड्दै पाल्पासँगै स्याङ्जा तथा तनहुँका विभिन्न स्थानमा मादल बिक्री गर्न पुर्याउने गरेको उनको भनाइ छ । तीन छोरा, दुई छोरीका बुबा रामबहादुरले मादल बेचेरै क्यान्सर रोग लागेकी श्रीमतीको उपचार गरेको बताए ।
उनले भने, “पहिले मादल बेचेरै गुजारा चलाउँथे, अहिले छोराले विदेशमा परिश्रम गरेर पैसा कमाउँछ, सजिलो भएको छ ।” भजनकीर्तन तथा विभिन्न साङ्गीतिक कार्यक्रममा नभई नहुने मादल बजारमा पाइने अन्य मादलभन्दा आफूले तयार पारेका मादल बलियो हुने उनको भनाइ छ ।
एक दिनमा छ वटासम्म मादल तयार पार्ने उनले एउटा मादलमा खरी भरेको मात्रै एक हजार लिने बताए । उनले भने, “यसो हुँदा त गाउँमै तयार हुने मादल अन्तबाट आयात हुने भयो ।” उनले यस क्षेत्रका विभिन्न स्थानबाट मागबमोजिम मादल निर्माण गर्ने बताउँदै तनहुँको घिरिङ गाउँपालिका, स्याङ्जाको गल्याङ, वालिङ, र चापाकोट नगरपालिका तथा पाल्पाको विभिन्न स्थानमा बिक्रीका निम्ति मादल बोकेर पुर्याउने र कतिपयले खरी भर्नका निम्ति घरमै मादल ल्याइदिने बताए ।
तानसेन नगरपालिका–६ लगायत जिल्लाका केही स्थानमा गन्धर्व समुदायको बस्ती रहे पनि मादल बनाएका भने देखिँदैन । सारङ्गी बजाएर गीत गाउँदै जीविकोपार्जन गर्ने गन्धर्व पनि आजभोलि तराईका जिल्लामा बसाइँ सरेका छन् । बढ्दो बसाइँसराइ र आफ्नो पेशाको संरक्षण गर्न युवाहरुले चासो नदेखाउँदा पाल्पामा मादल बनाउने पेशा नै धरापमा परेको छ । रासस