एकल बिन्दु सेवा सञ्चालनबाट परिसङ्घ उत्साहित

औद्योगिक व्यवसाय ऐनमा भएको प्रावधानअनुसार धेरै वर्षपछि विशेषतः उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको पहलमा उद्योग विभागको परिसरमा रहने गरी व्यवस्था गरिएको केन्द्रमा विभिन्न ठाउँमा छरिएर रहेका सरकारी निकाय एकै स्थानमा हुनेछन् ।

काठमाडौं । नेपाल उद्योग परिसङ्घलगायत निजी क्षेत्रका सङ्घसंस्थाले धेरै पहिलेदेखि माग गर्दै आएको एकल बिन्दु सेवा केन्द्रको व्यवस्थासहित सोको स्थापना र सञ्चालन सरकारले जेठ १ गतेदेखि प्रारम्भ गरेपछि परिसङ्घले खुसी व्यक्त गरेको छ ।

औद्योगिक व्यवसाय ऐनमा भएको प्रावधानअनुसार धेरै वर्षपछि विशेषतः उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको पहलमा उद्योग विभागको परिसरमा रहने गरी व्यवस्था गरिएको केन्द्रमा विभिन्न ठाउँमा छरिएर रहेका सरकारी निकाय एकै स्थानमा हुनेछन् ।

एकै स्थानबाट उद्योग दर्ता, कम्पनी रजिष्ट्रेसन, विदेशी लगानीकर्ताका लागि भिसा प्रक्रिया, वातावरण मूल्याङ्कन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण, पूर्वाधार, जग्गा, प्रशासन, निर्यात, भन्सार, राष्ट्रिय बैङ्कसमेतका शाखा रहने गरी व्यवस्था गरिएको यो केन्द्र नेपालका लागि नौलो प्रयोग हो ।

तथापि यसको व्यवस्थित सञ्चालन, समन्वय, निर्णयमा तदारुकता अन्तर सरकारी निकायहरुबीच समझदारीसहित लगानीकर्तालाई तोकिएको समयमा सेवा उपलब्ध गराउन केन्द्र प्रभावकारी एवम् लगानीकर्ता आकर्षित हुने विश्वास परिसङ्घले लिएको छ ।

सरकारी निकायको झन्झटीलो प्रक्रियाका कारण हैरान भएका लगानीकर्ता यस एकल बिन्दु सेवा केन्द्रको स्थापनापछि स्वदेशी एवं विदेशी लगानीकर्ताहरु हतोत्साहित हुने अवस्था नआउने अपेक्षा परिसङ्घले लिएको विज्ञप्तिमार्फत जनाएको छ ।