खनिजजन्य वस्तुको उत्खनन गरी निर्यात व्यापारमा सुधार ल्याउने प्रधानमन्त्री ओलीको योजना

‘नेपालको निर्यात व्यापारमा महत्त्वपूर्ण योगदान दिनसक्ने खनिज तथा खनिजजन्य वस्तुहरुको उत्खनन, प्रशोधन र बजारीकरणलाई सरकारले प्राथमिकता दिएको छ,’ प्रधानमन्त्री ओलीले भने ।

काठमाडौं । सुन, फलाम र तामाखानीलाई आधुनिकीकरणको माध्यमबाट उत्खनन गरी मुलुकको निर्यात व्यापारमा सुधार ल्याउने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

‘नेपालको निर्यात व्यापारमा महत्त्वपूर्ण योगदान दिनसक्ने खनिज तथा खनिजजन्य वस्तुहरुको उत्खनन, प्रशोधन र बजारीकरणलाई सरकारले प्राथमिकता दिएको छ,’ प्रधानमन्त्री ओलीले भने ।

शुक्रबारबाट काठमाडौंको लैनचौरस्थित खानी तथा भूगर्भ विभागमा आयोजित ‘नेपाल अन्तर्राष्ट्रिय जेम एन्ड ज्वेलरी एक्स्पो’को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले खनिज तथा खनिजजन्य वस्तुहरुको अन्वेषण, उत्खनन, प्रशोधन र बजारीकरणका लागि आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घ र खानी तथा भूगर्भ विभागको संयुक्त पहलमा आयोजना गरिएको ३ दिने सो एक्स्पोमा नेपाली गरगहनाको मौलिकता, विविधता र विशिष्टता झल्कने खालका प्रदर्शनी राखिएका छन् ।