तेल बोक्ने छ सय ट्याङ्करमा सेक्युरिटी लकिङ सिस्टम जडान

इन्डियन आयल कर्पोरेसनबाट तेल ल्याउँदा ड्राइभरको बदमासीले बीचमै चोरी गर्दा चुहावट भई क्षति भएको ठहर गर्दै ट्याङ्करमा सेक्युरिटी लकिङ सिस्टम जडान गर्न लागिएको हो ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ ढुवानी गर्दा हुने चोरी नियन्त्रण गर्न ढुवानी ट्याङ्करमा सुरक्षित चाबी लगाउने भएको छ । इन्डियन आयल कर्पोरेसनबाट तेल ल्याउँदा ड्राइभरको बदमासीले बीचमै चोरी गर्दा चुहावट भई क्षति भएको ठहर गर्दै ट्याङ्करमा सेक्युरिटी लकिङ सिस्टम जडान गर्न लागिएको हो ।

करिब छ सय ओटा पेट्रोल र डिजेल बोक्ने ट्याङ्करमा यो नयाँ सिस्टम जडान भैसकेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए । ‘व्यवसायीहरुले ट्याङ्करमा लकिङ सिस्टम जडान गरेका छन्, गोइतले भने, ‘अब केही दिनमा पूर्वबाट सञ्चालनमा ल्याउछौं ।’
त्यसका लागि निगम तयारीमा जुटेको जनाएको छ । भारतको सिलगुढीबाट झापा रुटमा चल्ने ट्याङ्करमा ताला लगाएर यो नयाँ सिस्टमलाई सञ्चालनमा ल्याउने निगमको तयारी छ ।
मुलुकभर चल्ने १८सय ट्याङ्करमध्ये ६ सयमा व्यवसायीले आफ्नै लगानीमा सेक्युरिटी लकिङ सिस्टम जडान गरेका हुन् । ताल्चा लगाउने भाग तयार भए पनि कार्यान्वयनमा ल्याउन निगमकै कारण ढिलाइ भएको व्यवसायी बताउँछन् ।

ट्याङ्करमा डेढ लाख रुपैयाँ खर्च गरेर सिस्टम जडान गरिएको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घका महासचिव विश्व अर्यालले बताए । ‘ताल्चा लगाउने भाग बन्यो,’ अर्यालले भने, ‘निगमकै कारण केही काम गर्न ढिलाइ भएको छ ।’

यो जडान गरेपछि ढुवानीको चुहावट रोकिने विश्वास गरिएको छ । ट्याङ्करमा लगाइएको अहिलेको सिल कमजोर भएकाले ढुवानीको क्रममा बीच बाटोमा चोरी नियन्त्रण गर्न विदेशमा गरिँदै आएको अभ्यासलाई नेपालमा पनि प्रयोगमा ल्याउन लागिएको हो । यसमा ट्याङ्करको ढक्कनदेखि तलसम्म रड जोडेर ताल्चा लगाइन्छ ।
यो प्रविधि कार्यान्वयन ल्याइएपछि आईओसीमा लगाइएको ताल्चा निगमका डिपोमा आएरमात्र खोलिने छ । त्यसको साँचो आईओसी र निगमको डिपोमा हुने भएकाले चालकले बीचमा चोरी गर्ने सम्भावना हुँदैन । विशेष प्रकारको साँचो भएकाले नक्कल गरेर बनाउन पनि मिल्दैन । यो प्रविधि आईओसीले डेढ दशकअघिनै प्रयोगमा ल्याएको थियो ।

तत्काल सुरु गर्न आपूर्ति मन्त्रालय, नेपाल आयल निगम, पेट्रोलियम डिलर तथा ढुवानी एसोसिएसन सहमत देखिए पनि विभिन्न बहाना बनाएर ढिलाइ गर्दै आएका छन् ।