प्रधानमन्त्री ओलीले गरे अप्टिकल फाइबर बिछ्याउने योजनाको शिलान्यास

नेपाल टेलिकमले मध्यपहाडी लोकमार्गबाट जिल्ला सदरमुकामहरुलाई सूचनाप्रविधिमा जोड्न यो योजना सुरु गरेको हो । योजनाअनुसार प्रदेश १, २ र ३ को मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर तथा उच्च क्षमतायुक्त उपकरण विस्तार गरिनेछ ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अप्टिकल फाइबर बिछ्याउने योजनाको शिलान्यास गरेका छन् । प्रधानमन्त्री ओलीले धादिङको गल्छीमा अप्टिकल फाइबर बिछ्याउने योजनाको शिलान्यास गरेका हुन् ।

नेपाल टेलिकमले मध्यपहाडी लोकमार्गबाट जिल्ला सदरमुकामहरुलाई सूचनाप्रविधिमा जोड्न यो योजना सुरु गरेको हो । योजनाअनुसार प्रदेश १, २ र ३ को मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर तथा उच्च क्षमतायुक्त उपकरण विस्तार गरिनेछ ।

अप्टिकल फाइबर बिछ्याउन नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार कोषबाट बजेट उपलब्ध गराउने पनि टेलिकमले जानकारी दिएको छ ।

टेलिकमले काम समयमै सम्पन्न गर्न पाँच ओटा कम्पनीसँग सम्झौता गरेको छ । टेलिकमले प्रदेश १ को पाँच सय ९६ किलोमिटरका लागि कोरियाको एलएस केबुल्स, प्रदेश २ को एक हजार २८ किलोमिटरका लागि अरोग्य कन्स्ट्रक्सन नेपाल, चाइना रेलवे र चाइना फ्युलको ज्वाइन्ट भेन्चरलाई जिम्मा दिएको छ ।

यस्तै प्रदेश ३ को पाँच सय ५५ किलोमिटर काम हङकङको सीसीएसआई चाइना कम्युनिकेसन सर्भिस इन्टरनेसनलले गर्ने भएको छ । डीडब्ल्यूडीएम उपकरणका लागि हङकङको सीसीएसआई र राउटर उपकरणका लागि सिङ्गापुरको सीटीएस कम्युनिकेसनसँग सम्झौता गरेको छ ।

मध्यपहाडी लोकमार्गअन्तर्गत चियो भन्ज्याङदेखि आरुघाटसम्म कुल आठ सय चार किलोमिटर तथा उक्त मार्गको उत्तर दक्षिण क्षेत्रमा एक हजार पाँच सय ७२ किलोमिटर स्पर लिङ्क गरी कुल दुई हजार तीन सय ७६ किलोमिटर अप्टिकल नेटवर्कमा जोडिने योजना अघि बढाइएको छ ।