राष्ट्र बैङ्कको निर्देशनः एटीएम मेसिनमा नेपाली भाषा राख

साक्षर व्यक्तिले सहजै रुपमा एटीएम मेसिनमा कार्ड राखेर सहजै पैसा निकाल्न सक्ला । निरक्षर, कम अध्ययन भएका वा अङ्ग्रेजी भाषा नजान्नेका लागि एटीएमको प्रयोग कसरी गर्ने भन्नेमा नै समस्या हुने गरेको छ ।

काठमाडौं । तपाईंलाई आवश्यकपर्ने पैसा बैङ्क तथा वित्तीय संस्थाबाट कसरी निकाल्नुहुन्छ ? एटीएम मेसिनको प्रयोग गर्नुहुन्छ वा चेकमार्फत गर्ने गर्नुभएको छ ?

साक्षर व्यक्तिले सहजै रुपमा एटीएम मेसिनमा कार्ड राखेर सहजै पैसा निकाल्न सक्ला । निरक्षर, कम अध्ययन भएका वा अङ्ग्रेजी भाषा नजान्नेका लागि एटीएमको प्रयोग कसरी गर्ने भन्नेमा नै समस्या हुने गरेको छ ।

उपभोक्ताको समस्यालाई समाधान गर्ने लक्ष्यका साथ नेपाल राष्ट्र बैङ्कले एटीएम मेसिनमा नेपाली भाषाको समेत सहज प्रयोग गर्ने गराउने वातावरण बनाउन लागिपरेको छ । सहज रुपमा आवश्यक रकम निकाल्नका लागि प्रयोगमा ल्याइएका एटीएम मेसिनमा नेपाली भाषा प्रयोगमा नल्याइँदा ग्राहकले असुविधा भोग्ने गरेका छन् ।

राष्ट्रिय वाणिज्य बैङ्कले सञ्चालनमा ल्याएका एटीएममा नेपाली भाषा रहेको भए पनि अन्य बैङ्क तथा वित्तीय संस्थाका एटीएम मेसिनमा भने नेपाली भाषा राखिएको छैन । नेपाल राष्ट्र बैङ्कको भुक्तानी प्रणाली विभागले ‘अटोमेटेड टेलर’ मेसिनमा नेपाली भाषा प्रयोग गरी कारोबार गर्ने व्यवस्था गर्न बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

बैङ्क तथा वित्तीय संस्थाले सञ्चालनमा ल्याएका एटीएम मेसिनमा नेपाली भाषाको प्रयोग गरी कारोबार गर्न सकिने सुविधा नभएको भनी गुनासो प्राप्त भएकाले केन्द्रीय बैङ्कले सूचनामार्फत आग्रह गरेको हो । बैङ्कले सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र एटीएम मेसिनमा अनिवार्य रुपमा नेपाली भाषा प्रयोग गरी कारोबार गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ ।

नेपाली भाषा प्रयोग गरी एटीएम चलाउन सकिने व्यवस्था गरी सो को जानकारी गराउनसमेत केन्द्रीय बैङ्कले निर्देशन दिएको छ । तोकिएको अवधिभित्र नेपाली भाषाको प्रयोग गरी कारोबार गर्न सकिने व्यवस्था मिलाइएको नपाइएमा भुक्तानी तथा फछ्र्यौट ऐन, २०७५ अनुसार कारबाही गरिने राष्ट्र बैङ्कले उल्लेख गरेको छ ।

विज्ञान प्रविधिको विकाससँगै बैङ्क तथा वित्तीय संस्थाले पछिल्ला दिनमा ग्राहकलाई सहज सेवा दिने लक्ष्यका साथ एटीएम मेसिन सञ्चालनमा ल्याएका हुन् । बैङ्क तथा वित्तीय संस्था, वित्त कम्पनी तथा सहकारी संस्थाले समेत एटीएम मेसिन सञ्चालनमा ल्याएका छन् ।

नेपाल राष्ट्र बैङ्कका अनुसार देशभर ४० लाख ७१ हजारले नियमित रुपमा एटीएम कार्ड प्रयोग गर्छन् । कुल ५९ लाख ६० हजारले एटीएम कार्ड लिएका छन् । सरकारले नयाँ वर्षको सुरुआतसँगै सुरु गरेको ‘खाता खोलौँ’ अभियानले पनि एटीएम कार्ड लिनेको सङ्ख्यामा वृद्धि हुने देखिएको छ । रासस