नेपाली कामदारको पहिलो रोजाइ कतार

चालू आर्थिक वर्षको मङ्सिर र पुसको तुलनामा माघमा श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको छ । माघमा रोजगारीका लागि नेपालबाट २८ हजार ४ सय १५ जना कामदार विभिन्न मुलुक गएका छन् ।

नेपालबाट रोजगारीका लागि विभिन्न मुलुक जाने नेपालीको पहिलो रोजाइ कतार बनेको देखिएको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार सबैभन्दा बढी नेपाली कामदार रोजगारको खोजीमा कतार पुगेका छन् ।

चालू आर्थिक वर्षको मङ्सिर र पुसको तुलनामा माघमा श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको छ । माघमा रोजगारीका लागि नेपालबाट २८ हजार ४ सय १५ जना कामदार विभिन्न मुलुक गएका छन् । यो सङ्ख्या पुसको तुलनामा ४ सय ८८ जना बढी हो । त्यस्तै मङ्सिरमा २७ हजार ९ सय ६५ र पुसमा २७ हजार ९ सय २७ जना बिदेसिएका थिए ।

दोस्रो गन्तव्य मुलुक बनेको मलेसियामा ८ हजार ६ सय ९८ जना वैदेशिक रोजगारको सिलसिलामा पुगेका छन् । यसमध्ये पुरुष ८ हजार ७ सय ३० र महिला २ सय ६८ छन् । तेस्रो गन्तव्य मुलुक दुबईमा ४ हजार ७ सय ८ छन् । तीमध्ये ४ हजार ४० पुरुष र ४ सय ११ महिला छन् । यो सङ्ख्या हालसम्मकै बढी महिला वैदेशिक रोजगारीमा गएका छन् । चौथो मुलुकका रुपमा साउदी अरब छ । यहाँ अहिले ३ हजार एक सय ६० जना नेपाली रोजगारीका लागि गएका छन् ।

त्यसैगरी क्रमशः ओमानमा १ सय ९० पुरुष र १५ महिला, साइप्रसमा १२ पुरुष र महिला १ सय २६, बहराइनमा ३ सय ६६ पुरुष र ३२ जना महिला, अफगानिस्तानमा एक पुरुष मात्र छन् । त्यस्तै लेबनानमा ५, इजरायलमा ३ तथा अन्य मुलुकमा एक हजार ७ सय ७२ कामदार रोजगारीको खोजीमा गएका छन् । जापान, क्यानडा र पोर्चुगलमा भने श्रम स्वीकृति लिएर रोजगारीमा गएको पाइएको छैन । यी देशमा नेपालीहरु विद्यार्थी भिसामा जाने गरेकाले यस्तो भएको हो ।