चिरञ्जीवि चापागाइले बीमा कम्पनीलाई भने : स्वेच्छिक मर्जरमा जानुस, सहुलियत पाइन्छ

मर्जर र प्राप्ति प्रक्रियामा सहभागी हुने बीमा कम्पनीलाई कर छुटलगायत अन्य सहुलियत दिन अर्थ मन्त्रालयलसंग छलफल भइरहेको उनले स्पष्टपारे । बजेटमा आएको कार्यक्रम भएकाले मर्जर र प्राप्ति प्रक्रियामा सहभागी हुने कम्पनीले सहुलियत पाउने उनले बताए ।

काठमाडौं । बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईले बीमा कम्पनी एकआपसमा गाभिने (मर्जर) र प्रप्ति (एक्विजिसन) दवाव नभएर स्वेच्छिक भएको बताएका छन । उनले भोलियन्टर मर्जरमा जान सुझाएका हुन ।

उनले फोर्सफुल्ली नभई भोलियन्टियर मर्जरमा जान नीति ल्याएको स्पष्टपारे । मर्जरको विकल्प नभएको बताउदै उनले भने ‘अहिलेको अवस्थामा बजारलाई पुरै खुला छाड्न सकिन्दैन, नियमन हुनेछ ।’

गत वर्ष १३ ओटा बीमा कम्पनीलाई अनुमति दिएपछि बजार विस्तार भई बीमा पंहुच १८ प्रतिशत र कुल ग्राहस्र्थ उत्पादन (जीडीपी) को ३ प्रतिशत हिस्सामा पुगेको बताउदै उनले भने ‘पुराना निवेदनलाई कार्यन्वयन गरिएको हो, नयाँ आवेदन दिनेलाई बीमाको लाइसेन्स दिइएको हैन ।’

मर्जर र प्राप्ति प्रक्रियामा सहभागी हुने बीमा कम्पनीलाई कर छुटलगायत अन्य सहुलियत दिन अर्थ मन्त्रालयलसंग छलफल भइरहेको उनले स्पष्टपारे । बजेटमा आएको कार्यक्रम भएकाले मर्जर र प्राप्ति प्रक्रियामा सहभागी हुने कम्पनीले सहुलियत पाउने उनले बताए ।

बीमा कम्पनीमा भएको क्रसहोल्डिङ्गसको समितिले सुक्ष्म अध्ययन गरिरहेको बताउदै उनले तोकिएको अनुसार सेयर स्वामित्व नघटाए फोर्स मर्जरमा पठाउने उनले चेतावनी दिए । यो वर्ष निर्जीवन बीमा व्यवसाय बढेर २६ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको उनले सुनाए ।

समितिले जारी गरेको मर्जर निर्देशिकामा बैङ्क तथा वित्तीय संस्थाको जस्तै एकाघर परिवारको स्वामित्व १५ प्रतिशत भन्दा बढी हुन नपाइने र यदी भएमा स्वामित्व घटाउनु पर्ने व्यवस्था गरेको छ । मर्जरमा जान बीमा कम्पनीले साधारणसभाबाट गर्नुपर्ने र प्राप्ति प्रक्रियाका लागि विशेष साधारणसभा गर्नुपर्ने व्यवस्था निर्देशिकामा छ ।

न्युनतम १ अर्ब र २ अर्ब रुपैयाँ पुँजी नपुर्याउने कम्पनीलाई मर्जर र प्राप्तिमा सहभागी हुने भए समितिले तत्काल अनुमति दिने, मर्जर स्वीकृत गरेर सम्पत्ति दायित्व मूल्याँकन (डीडीए) र जीवन बीमा कम्पनीको बीमाँकीय मूल्याँकन आवश्यक पर्ने छ ।

१३ ओटाको लाइसेन्स जारी गरेपछि मर्जर किन ?

अर्थको अर्थको आयोजना र समितिको सहयोगमा बुधबार राजधानीमा आयोजना गरिएको अन्तरक्रियामा सहभागीले एक वर्षअघि १३ ओटा कम्पनीलाई लाइसेन्स दिने फेरी तत्काल मर्जर र प्राप्तिमा जाउ किन भनेको ? प्रश्न गरेका थिए ।

एलायन्स इन्स्योरेन्स कम्पनी लिमिटेडका संस्थापक पुष्पदास प्रधानले एक दशकदेखि बन्द रहेका बीमा कम्पनीको लाइसेन्स खुलाउने र तत्काल मर्जरमा जान भन्न नमिल्ने जिकिर गरे । अध्ययन र तथ्यमा गएर मात्र मर्जरमा जानुपर्ने उनको सुझाव थियो ।

पूर्व सचिव विमलप्रसाद वाग्लेले मर्जर र प्राप्ति खुलाबजार अर्थनीति विपरित भएको टिप्पणी गरे । उनले दुई अंकको आर्थिक वृद्धि, वचत बढेको, सरकारको खर्च गर्ने क्षमतामा हुने सुधारले आर्थिक गतिविधि बढ्ने भएकाले आगामी दिनमा बीमा कम्पनीको भुमिका ठुलो हुने बताए । कम्पनीहरुलाई खेल्ने अवसर दिएर केही समयपछि मात्र मर्जरमा जान वाग्लेले सुझाएका थिए । उनले मर्जरमा जान स्वविवेक छाडिदिनुपर्ने सुझाए ।

बीमक संघका उपाध्यक्ष नुरप्रकाश प्रधानले विदेशी पुर्नबीमा कम्पनीले नेपाललाई छाड्दै गएको जानकारी गराउदै यसतर्फ ध्यान दिने सुझाव दिए । विदेशी पुर्नबीमा कम्पनीलाई नेपालमा व्यवसाय गर्ने वातावरण बनाउन आवश्यक भएको उनको भनाई थियो ।

छलफलमा सहभागी बीमा कम्पनीहरुले सरोकारवालासंग पर्याप्त छलफल नगरी मर्जर निर्देशिका ल्याएको गुनासो गरेका थिए । कम्पनीलाई बजारमा छाड्नु पर्ने बताउदै उनले बजारमा कमजोर हुने कम्पनी स्वत मर्जर र प्राप्तिमा जाने बताएका छन् ।