‘गर या मर’को स्थितिमा उद्योगी, अस्तित्व जोगाउन पनि निर्यात गर्नैपर्ने

सरकार पूर्वाधार निर्माणमा आक्रामक रूपमा लागे आफूहरुको समस्या समाधान हुने कसमस सिमेन्टका निर्देशक प्रबलजङ्ग पाण्डेको भनाइ छ । अन्यथा उद्योगीले सिमेन्ट निर्यात गर्नुपर्ने उनले बताए । यी दुई विकल्पबाहेक तेस्रो विकल्प नभएको उनको धारणा छ ।

काठमाडौं । मागभन्दा बढी सिमेन्ट उत्पादन भएपछि उद्योगीले निकासी गर्नुपर्ने अवस्था आएको छ । उद्योगको अस्तित्व जोगाउन सिमेन्ट निर्यात गर्नुपर्ने अवस्था आएको हो । कुल मागको तुलनामा सिमेन्ट उत्पादन बढी भइरहेकाले जुनसुकै अवस्थामा पनि निर्यात गर्नुपर्ने अवस्था सिर्जना भएको उद्योगीले बताएका छन् ।

अहिले नेपालमा २ खर्ब रुपैयाँ बराबरको सिमेन्ट उत्पादन भइरहेको नेपाल सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष ध्रुव थापाको भनाइ छ । तर नेपालको माग डेढ खर्ब रुपैयाँ बराबरको मात्रै छ । ‘अहिले पनि वार्षिक ५० अर्ब रुपैयाँबराबरको सिमेन्ट उत्पादन गरेर उद्योगीले गोदाममा थन्काइरहेका छन्,’ उनले क्यापिटल नेपालसँग भने, ‘यदि उद्योगीले आफ्नो पहिचान जोगाइराख्ने हो भने, नेपालबाट सिमेन्ट निर्यात नगरी हुँदैन ।’

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत स्वदेशी उद्योगबाट उत्पादित वस्तु प्रयोगलाई प्रोत्साहन गर्ने नीति पूर्ण रुपमा कार्यान्वयन आए हालको मागमा थप तीन प्रतिशत मात्रै थपिने उनले बताए । अहिले अरुण तेस्रो जस्ता केही ठूला जलविद्युत् आयोजनाले विदेशबाट सिमेन्ट ल्याएर प्रयोग गरिरहेका छन् । ‘विदेशी सिमेन्ट प्रयोग गर्ने जलविद्युत् तथा ठूला निर्माण क्षेत्रमा नेपाली सिमेन्ट प्रयोग गरिए अहिलेको मागमा थप तीन प्रतिशत थपिन्छ, त्यसले केही हुँदैन,’ उनले भने, ‘सानो रुपमै भए पनि राहत त दिन्छ, तर निर्यात नगरी सुखै छैन ।’

सरकार पूर्वाधार निर्माणमा आक्रामक रूपमा लागे आफूहरुको समस्या समाधान हुने कसमस सिमेन्टका निर्देशक प्रबलजङ्ग पाण्डेको भनाइ छ । अन्यथा उद्योगीले सिमेन्ट निर्यात गर्नुपर्ने उनले बताए । यी दुई विकल्पबाहेक तेस्रो विकल्प नभएको उनको धारणा छ ।

भन्सार विभागले उपलब्ध गराएको १० महिनाको तथ्याङ्क हेर्दा ११ अर्ब ४ करोड रुपैयाँबराबरको क्लिङ्कर तथा सिमेन्ट नेपाल भित्रिएको छ । नेपालमा क्लिङ्कर तथा सिमेन्ट नेपाल आउने क्रम निरन्तर रुपमा ओरालो लागिरहेको अध्यक्ष थापाले बताए ।

केही ठूला कम्पनीले भारतबाट सिमेन्ट ल्याउने गरेकाले अहिले पनि पूर्ण रुपमा आयात नरोकिएको बताए । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत स्वदेशमै उत्पादन भइरहेको सिमेन्ट प्रयोग गर्न प्रोत्साहन गर्ने नीति लिएको छ । यसले गर्दा आगामी आर्थिक वर्ष सिमेन्ट आयात पूर्ण रुपमा रोकिने उनीहरुको विश्वास छ ।

आयात रोकिँदैमा र स्वदेशी उद्योगको सिमेन्ट प्रयोग गर्दैमा सिमेन्टको भविष्य नसुध्रिने अम्बे ग्रुपका अध्यक्ष हरि न्यौपाने बताउँछन् । ‘सिमेन्टमा ‘क्रिटिकल सिचुएसन’ आएको छ । त्यो अवस्थाबाट जोगिन निकासी अनिवार्य भइसकेको छ,’ उनले भने, ‘मागभन्दा उत्पादन बढी भएकाले अहिले नै उत्पादन गोदाममा थन्किएको हो ।’

‘उत्पादन घटाउँदा लागत बढ्छ, नघटाऊँ उत्पादन बढ्छ,’ सौरभ समूहका कार्यकारी निर्देशक विष्णु न्यौपानेले भने, ‘यसो गर्दा पनि हुँदैन, उसो गर्दा पनि हुँदैन ।’ उनका अनुुसार माग भएको र उत्पादन बढी भएका कारण उद्योगीले धमाधम उधारोमा सिमेन्ट बजारमा पठाएका छन् ।

‘आफ्नो गोदामको क्षमता सीमित हुन्छ, अहिले बिक्री पनि कम र उत्पादन बढी भएकाले गोदाममा समेत अट्न छाडिसक्यो,’ एक उद्योगीले भने, ‘हाम्रो गोदाममा राख्नुभन्दा डिलरकोमै पठाउने गरेका छौं ।’ उद्योगीले पनि सिमेन्ट निर्यातमा चासो देखाएका छन् । सरकारले केही प्रोत्साहन गरे निर्यात सम्भव भएको अर्घाखाँची सिमेन्टका अध्यक्ष पशुपति मुरारकाले बताए । ‘छुट चाहिएको होइन,’ उनले भने, ‘प्रोत्साहन भए सिमेन्ट निर्यात सम्भव छ ।’

राजस्व संकलन घटाएर भए पनि सरकार सिमेन्ट, डन्डीलगायत उद्योगको संरक्षणमा सरकार लागेको बताएका छन् । उनले नेपालमै उत्पादन हुने बस्तुको आयात रोक्न भन्सार दरबन्दी बढाएको र केहीलाई प्रतिबन्ध लगाएको जानकारी दिएका छन् । पछिल्लो समयमा चिनियाँ लगानीमा स्थापना भएको होङ्सी सिमेन्ट उद्योगले उत्पादन थालिसकेको छ । यस्तै चिनियाँ लगानीमा दैनिक ३ हजार टन सिमेन्ट उत्पादन क्षमता भएको ह्वासिन नारायणीले सिमेन्ट उत्पादन थाल्दै छन् ।