‘२८६ करोड खराब कर्जा प्रोभिजनिङ’ नगराउन एनआईसी एसियाको राष्ट्र बैङ्कमा लविङ

चालु आर्थिक वर्षको अन्तिम त्रैमाशमा रहेको र अर्बौ रुपैयाँ प्रोभिजनिङ गर्दा बैङ्कको नाफामा गम्भीर असर गर्ने भन्दै यसलाई रोक्नका लागि प्रयास थालिएको हो ।

काठमाडौं । एनआईसी एसिया बैङ्कका सञ्चालक तथा व्यवस्थापक २ अर्ब ८६ करोड रुपैयाँ खराब कर्जा प्रोभिजनिङ नगराउन लविङमा लागेका छन् । खराब कर्जा बढेको भन्दै नेपाल राष्ट्र बैङ्कले एनआईसी एसियालाई प्रोभिजनिङ गर्न बाध्य बनाएपछि नगराउन सञ्चालक र व्यवस्थापक कम्मर कसेर लविङमा लागेका हुन ।

चालु आर्थिक वर्षको अन्तिम त्रैमाशमा रहेको र अर्बौ रुपैयाँ प्रोभिजनिङ गर्दा बैङ्कको नाफामा गम्भीर असर गर्ने भन्दै यसलाई रोक्नका लागि प्रयास थालिएको हो । प्रोभिजनिङ गरेको अवस्थामा बैङ्क गम्भीर सङ्कटमा पर्ने भन्दै सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशनकुमार न्यौपाने र बैङ्कका जनसम्पर्क अधिकृत अर्जन खनियासम्म राष्ट्र बैङ्कका उच्च अधिकारीलाई भेट्न थालेको स्रोतको दाबी छ ।

निर्देशित कर्जा आपूm अनुकूल दिएको, दोहोरो ब्यालेन्ससिट बनाएको र कमसल धितो राखेर ठूलो रकम ऋण दिँदा खराब कर्जा बढेको राष्ट्र बैङ्कले फेला पारेको थियो । त्यसपछि राष्ट्र बैङ्कले बैङ्कका सञ्चालकलाई बोलाएर तत्काल प्रोभिजनिङ गर्न समेत सुझाएको स्रोतको दाबी छ ।

राष्ट्र बैङ्कको सुपरीवेक्षण विभागले दुई महिना लगाएर एनआईसी एसियाको फाइल अध्ययन गरेको थियो । विभागले करिब ३०० फाइलमा समस्या देखाएको छ ।

दोहोरो ‘ब्यालेन्ससिट’ बनाएर ऋण दिएको, निर्देशित कर्जा पनि आफूअनुकूल दिएको भेटिएपछि त्यस्ता ऋणका फाइलमाथि सूक्ष्म अध्ययन सुरु गरेको हो । केन्द्रीय बैङ्कको बैङ्क सुपरिवेक्षण विभागले एनआईसी एसिया गम्भीर समस्यामा पर्न सक्ने आकलन गर्दै आशङ्कित फाइलहरुमा सूक्ष्म अध्ययन थालेको हो ।

राष्ट्र बैङ्कले सुक्ष्म अध्ययन गर्न थालेको र प्रोभिजनिङ गर्न बाध्य बनाउने भएपछि सञ्चालकदेखि व्यवस्थापक राष्ट्र बैङ्कका उच्च अधिकारीलाई भेटेर मिलाइदिन आग्रह समेत गरेको स्रोतको दाबी छ ।

३ वर्षदेखि आक्रमक रुपमा बजार विस्तार गरिरहेको एनआईसी एसियाले जनताको पैसामा बैङ्कले गम्भीर लापरबाही गरेको भन्दै राष्ट्र बैङ्कले सचेत समेत गराइसकेको छ । चालु आर्थिक वर्षको ९ महिनामा एनआईसी एसियाले २ अर्ब २४ करोड रुपैयाँ खुदनाफा गरेको छ । धेरै नाफा गर्नेमा एनआईसी एसिया चौथो वाणिज्य बैङ्क हो । यो वर्ष नाफा बढाएर ३ अर्ब रुपैयाँ पुर्याउने र सेयरधनीलाई आकर्षक लाभांश दिने योजना बैङ्कको छ ।

यदि एनआईसी एसियाले उक्त रकम प्रोभिजनिङ गर्नुपरेको अवस्थामा बैङ्कको भविष्य जोखिममा पर्ने राष्ट्र बैङ्कका अधिकारीहरु बताउँछन् ।

‘त्यही भएर सञ्चालकदेखि व्यवस्थापकसम्म दैनिक राष्ट्र बैङ्क धाउन थालेका छन्,’ स्रोतले क्यापिटल नेपालसँग भन्यो, । एनआईसी एसिया सबैभन्दा बढी निक्षेप परिचालन गर्ने बैङ्क भएको छ । उसले १ खर्ब ७८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । जुन सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कको भन्दा १ अर्ब रुपैयाँ बढी हो ।