आन्दोलनको रणनीति बनाउन २२ गते महासङ्घको विशेष भेला, सडकमा डोजर र एस्काभेटर राख्ने तयारी

महासङ्घको कार्यसमितिले आन्दोलनमा जाने निर्णय गरे पनि अन्य सदस्यहरुले विशेष भेला आयोजना नगरी आन्दोलनमा जान नहुने सुझाव दिएपछि भेलाको आयोजना गर्न लागेको हो । भेलाले आगामी आन्दोलनको प्रारुप तयार गर्नेछ ।

काठमाडौं । सार्वजनिक खरिद नियमावली (छैटौं संशोधन)को विरोधमा उत्रिएको नेपाल निर्माण व्यवसायी महासङ्घले २२ गते विशेष भेला आयोजना गर्दै छ । महासङ्घको कार्यसमितिले आन्दोलनमा जाने निर्णय गरे पनि अन्य सदस्यहरुले विशेष भेला आयोजना नगरी आन्दोलनमा जान नहुने सुझाव दिएपछि भेलाको आयोजना गर्न लागेको हो । भेलाले आगामी आन्दोलनको प्रारुप तयार गर्नेछ ।

सम्बन्धित निकायको सुझाव नै नलिई सरकारले एक्लौटी रुपमा नियमावली संशोधन गरेको भन्दै महासङ्घले केही समयदेखि सरकारको विरोध गर्दै आएको छ । सरकारका विभिन्न निकायमा भेटी नियमावली संशोधन गर्न सुझाव दिए पनि बेवास्ता गरेका कारण आन्दोलन गर्न लागेको महासङ्घका प्रवक्ता टङ्क चौलागाईंको भनाइ छ ।

संशोधन वा खारेजीको माग गर्दै आएको महासङ्घले निर्माण कार्य रोक्ने, लाइसेन्स सरकारलाई बुझाउनेदेखि सडकमा डोजर र एस्काभेटर राख्नेसम्मका आन्दोलन तय गर्न लागेको जनाएको छ । नेपालमा १५ हजारभन्दा बढी निर्माण व्यवसायी छन् । नियमावलीअनुसार काम गर्ने हो भने १२ हजारभन्दा बढी व्यवसायी व्यवसायबाट पलायन हुनुको विकल्प नरहेको महासङ्घको निष्कर्ष छ ।