घरजग्गा कारोबार व्यवस्थित गर्न ‘एन–रियो’ गठन, अब अनलाइबाटै घरजग्गा खरिदबिक्री

पछिल्लो समय देशमा घरजग्गा कारोबारमा अस्वस्थ प्रतिस्पर्धा मौलाएको भन्दै एजेन्ट, सरकार र अन्य पक्षसँग मिलेर त्यसलाई रोक्न र घरजग्गाको वास्तविक मूल्य पत्ता लगाउन नयाँ संस्था सञ्चालनमा ल्याउनुपरेको एन–रियोका अध्यक्ष नरेश सिंहले जानकारी दिए ।

काठमाडौं । एजेन्ट र एजेन्सीहरुलाई एकबद्ध गरी घरजग्गा कारोबारलाई मर्यादित र व्यवस्थित बनाउनका लागि नेपाल रियल स्टेट अर्गनाइजेसन (एन–रियो)को उद्घाटन भएको छ । पछिल्लो समय देशमा घरजग्गा कारोबारमा अस्वस्थ प्रतिस्पर्धा मौलाएको भन्दै एजेन्ट, सरकार र अन्य पक्षसँग मिलेर त्यसलाई रोक्न र घरजग्गाको वास्तविक मूल्य पत्ता लगाउन नयाँ संस्था सञ्चालनमा ल्याउनुपरेको एन–रियोका अध्यक्ष नरेश सिंहले जानकारी दिए ।

‘अहिले काठमाडौं मात्र होइन भर्खर विकासित भइरहेको स्थानमा समेत सामान्य मानिसले घर बनाउन ४ आना जग्गा किन्न सक्ने अवस्था छैन । अनियन्त्रित रुपमा मूल्य निर्धारण भइरहेको छ,’ संस्थाको औपचारिक उद्घाटन समारोहमा उनले भने, ‘अब यस संस्थाले एजेन्ट र एजेन्सीहरु व्यावसायिक ढङ्गबाट सञ्चालन गर्न प्रोत्साहित गर्दै जग्गा बिक्रेतालाई सही मूल्य र खरिकर्तालाई सर्वसुलभ मूल्यमा जग्गा उपलब्ध गराउने काम गर्छ ।’

संस्थाले घरजग्गा खरिदकर्ता तथा बिक्रीकर्तालाई वास्तविक मूल्य थाहा दिन र घरजग्गा कारोबारलाई व्यवस्थित गरी सहजीकरण गर्न मल्टी लिस्टिङ सिस्टम (एमएलएस) तयार गरिएको जानकारी दिएको छ । उक्त सिस्टममा ब्रोकरले कुनै पनि व्यक्तिले बिक्री गर्न लागेको घरजग्गाको वास्तविक मूल्यसहित राख्नेछ भने सोही आधारमा कुनै पनि व्यक्तिले संस्थामा आबद्ध भएका एजेन्ट र एजेन्सीमार्फत खरिद गर्न सक्नेछ । एमएलएस सिस्टममा उक्त संस्थामा आबद्ध सबै ब्रोकरले बिक्रीका लागि आएका घरजग्गाको विवरण अपलोड गर्न सक्नेछन् ।

कार्यक्रममा काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले संस्था उद्घाटनको शुभकामना दिँदै कठमाडौंमा भएका एजेन्ट र एजेन्सीलाई यस संस्थाले व्यवस्थित बनाउन सहयोग गर्न सक्ने बताए ।

महानगरले बनाउँदै गरेको नीति तथा कार्यक्रममा यो व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन कसरी सकिन्छ भन्ने विषयमा छलफल गरी त्यसको खाका लिएर आउनसमेत आग्रह गरे । साथै स्थानीय सरकार सहकार्य गरी अगाडि बढ्न चाहेको पनि उनको भनाइ छ ।

कार्यक्रममा पूर्व सहरी विकास सचिव तथा इन्स्टिच्युट फर अर्बान रिसर्च स्टडिजका अध्यक्ष किशोर थापाले उक्त संस्थाले घरजग्गा कारोबारमा ठूलो सुधार ल्याउन सक्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले पनि एन–रियोले घरजग्गा कारोबारलाई मर्यादित र व्यस्थित बनाउन सहयोग पुर्याउने धारणा राखे ।

कार्यक्रममा नेपाल ल्यान्ड एन्ड हाउजिङ डेभलपर्स एसोसिएसनका उपाध्यक्ष दीपक कुँवरले घरजग्गा कारोबारलाई सहजीकरण गर्न संस्थाले उल्लेख्य भूमिका निर्वाह गर्ने बताए । हाल ठोस कानुन नहँुदा घरजग्गा खरिदबिक्रीमा आआफ्नै ढङ्गले काम भइरहको जानकारी दिँदै एन–रियो सञ्चालनमा आएसँगै त्यसले थप व्यवस्थित गर्न काम गर्नुपर्ने बताए ।

कार्यक्रममा एन–रियोका महासचिव विनोद सुवेदीले संस्थाले आगामी दिनहरुमा घरजग्गा कारोबारसम्बन्धी क्रेता तथा बिक्रेतामा जनचेतना फैलाउने, एजेन्ट र एजेन्सीहरुलाई तालिमका कार्यक्रम सञ्चालन गरी अझ दक्ष बनाउन प्रयास गर्ने र एमएलएसका माध्यमाबाट घरजग्गा कारोबार व्यवस्थित बनाउन काम गरिने बताएका छन् । संस्थाले घरजग्गा कारोबारमा भइरहेको अस्वस्थ प्रतिस्पर्धा रोक्न एजेन्ट र एजेन्सीका माध्यमबाट अनलाइनबाटै कारोबार गर्ने प्रणालीको विकास गर्ने समेत उनले जानकारी दिए ।