६ महिनामा ३२ करोडको औषधि निर्यात

देशमा औषधिका लागि आवश्यक कच्चापदार्थ रहे पनि लगानीको वातावरण नबन्दा मागअनुसार औषधि उत्पादन हुन सकेको छैन ।

देशमा औषधि उद्योगका क्षेत्रमा लगानी बढिरहेका बेला पछिल्लो ६ महिनामा ३२ करोड २७ लाख ४४ हजार रुपैयाँको औषधि निर्यात भएको छ । निकासी प्रवद्र्धन केन्द्रले सार्वजनिक गरेकोे आर्थिक वर्ष २०७४÷०७५ को ६ महिनाको तथ्याङ्कले यस्तो देखाएको हो ।

आर्थिक वर्ष २०७३/०७४ मा ९९ करोड ५६ लाख ४७ हजार रुपैयाँको औषधि निर्यात भएको थियो । आव २०७३/७४ साउनदेखि पुससम्मको अवधिमा ५३ प्रतिशतले निर्यात बढेर ५३ करोड ५१ लाख ८१ हजार रुपैयाँको औषधि निर्यात भएको तथ्याङ्कमा उल्लेख छ ।

विगत ३ वर्षको तथ्याङ्क हेर्दा निर्यात अहिलेसम्म निर्यात घट्दै गएको छ । २०७२ सालमा एक अर्ब ३४ करोड ९६ लाख ५१ हजार ९ सय ७२ रुपैयाँको औषधि निर्यात भएकोमा थियो । २०७४ को असार मसान्तसम्म आइपुग्दा निर्यात ५८.६७ प्रतिशत घटेर ७९ करोड १८ लाख ३० हजार ८ सय ३० रुपैयाँबराबरको औषधि निर्यात भएको देखिन्छ ।

देशमा औषधिका लागि आवश्यक कच्चापदार्थ रहे पनि लगानीको वातावरण नबन्दा मागअनुसार औषधि उत्पादन हुन सकेको छैन । निजीक्षेत्रले कुल औषधि उत्पादनको ४५ प्रतिशत माग पूरा गरेको छ । त्यसैले औषधिमा आत्मनिर्भर हुन यस क्षेत्रमा सरकारले लगानीमैत्री वातावरण निर्माण गर्नुुपर्ने देउराली जनता फर्मास्युटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्माले बताए । खुला आयातका कारण बर्सेनि अर्बौं रुपैयाँबराबरका विदेशी ब्रान्डका औषधि भित्रिने गरेको उनको भनाइ छ । ‘सरकारले आयातमा कडाइ गर्नुपर्छ,’ उनले भने, ‘सरकारले निजीक्षेत्रसँग सहकार्य गरी लगानीमैत्री नीति ल्याउनुपर्छ ।’ औषधि उद्योग खोलेर मात्रै नहुने र त्यसका लागि आवश्यक कच्चापदार्थ, जनशक्ति उत्पादन र लगानीमैत्री नीति आवश्यक पर्ने उनले बताए ।

औषधि उद्योगहरुमा लगानी बढ्दै गएकाले आयात कम हुँदै गएको र निर्यात बढेको औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालको भनाइ छ । मुलुक आयुर्वेदिक औषधिको उत्पादनमा आत्मनिर्भर उन्मुख रहेको उनले बताए । ‘स्वदेशमा कच्चापदार्थ प्रशस्त रहेकाले आयुर्वेदिक औषधिमा आत्मनिर्भर छौँ,’ उनले भने, ‘निर्यात बढाउन निजीक्षेत्र क्षेत्रसँग सहकार्य गरी लगानी वातावरण निर्माण हुनुपर्छ ।’ करिब वार्षिक २५ अर्ब रुपैयाँबराबरको औषधि विदेशबाट आयात हुने उनले जानकारी दिए ।

अहिले नेपालमा ५३ औषधि उद्योग छन् । पाँच उद्योग थप सञ्चालनको तयारीमा छन् । ती उद्योगले नियमित रुपमा औषधि उत्पादन गरी स्वदेश तथा विदेशमा वितरण गर्दै आएका छन् । ३ सय ५३ वटा उद्योग औषधि निकासी तथा पैठारीका लागि दर्ता छन । अहिले कुल मागको ६० प्रतिशत औषधिको विदेशबाट आयात हुने गरेको छ ।