योजना आयोग र एनपीआईबीच नीतिगत सहकार्य हुने

एनपीआईका अध्यक्ष खगेन्द्र ढकालले नेपालमा प्रत्यक्ष विदेशी लगानी, गरीबी निवारण, वातावरण संरक्षण, मानवीय पूँजी विकास र आर्थिक कूटनीतिका विषयमा आफूहरुले निरन्तर नीगित सुझाव दिने जानकारी दिए ।

काठमाडौँ । राष्ट्रिय योजना आयोग र नेपाली पोलिसी इन्स्टिच्युट (एनपीआई) बीच नीतिगत परामर्शका लागि दीर्घकालीन सहकार्य हुने भएको छ ।

थाइल्याण्डस्थित गैरआवासीय नेपाली सङ्घको सहकार्य र त्यहाँस्थित नेपाली दूतावासकोे समन्वयमा बैंककमा आयोजना भएको प्रबुद्ध सम्मेलनमा उक्त आयोगका सदस्य मीनबहादुर शाहीले १५औँ आवधिक योजना कार्यान्वयनका क्रममा एनपीआईका अध्ययन र सुझाव समेट्न लिखितरूपमै सहकार्य गरिने बताएका हुन् ।

राष्ट्रिय विकास परिषद्को पछिल्लो बैठकमा एनपीआईका प्रतिनिधिलाईसमेत सहभागी गराइएको थियो भन्दै उनले पञ्चवर्षीय योजना समृद्ध नेपालको परिकल्पनासहित २५ वर्षे दूरदृष्टिमा आधारित भएको जानकारी दिए ।

एनपीआईका अध्यक्ष खगेन्द्र ढकालले नेपालमा प्रत्यक्ष विदेशी लगानी, गरीबी निवारण, वातावरण संरक्षण, मानवीय पूँजी विकास र आर्थिक कूटनीतिका विषयमा आफूहरुले निरन्तर नीगित सुझाव दिने जानकारी दिए ।    रासस