शुक्रबारदेखि हिमाली कृषि व्यवसाय प्रवर्द्धन प्रदर्शनी

उच्च पहाडी कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार (हिमाली) आयोजना र नेपाल उद्योग वाणिज्य महासङ्घले संयुक्त रुपमा आयोजना गर्ने सो प्रदर्शनीमा ७५ ओटा कक्ष रहनेछ ।

उच्च पहाडी क्षेत्रमा उत्पादन भएका कृषिजन्य वस्तुलाई प्रवर्द्धन गर्नका लागि ‘तेस्रो राष्ट्रिय हिमाली कृषि व्यवसाय प्रवद्र्धन प्रदर्शनी’ शुक्रबारबाट सुरु हुने भएको छ ।

उच्च पहाडी कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार (हिमाली) आयोजना र नेपाल उद्योग वाणिज्य महासङ्घले संयुक्त रुपमा आयोजना गर्ने सो प्रदर्शनीमा ७५ ओटा कक्ष रहनेछ । हिमाली क्षेत्रमा उत्पादन हुने कृषिजन्य वस्तु राखिने हिमाली आयोजनाका प्रमुख डा विजयकान्त झाले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनले उच्च पहाडी क्षेत्रमा उत्पादन भएका जडीबुटी, कृषिजन्य र पशुजन्यको राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा प्रवर्द्धन गर्नका लागि प्रदर्शनी आयोजना गरिएको बताए । तीन दिनसम्म चल्ने प्रदर्शनीमा सङ्खुवासभा, दोलखा, रसुवा, मनाङ, डोल्पा, जुम्ला, मुगु र हुम्लामा उत्पादन हुने याकको चिज, छुर्पी, राडीपाखी, तरकारीको बीउ, तोरा जुस, रसुवाको कालो मसुरो, जुम्ली मार्सी चामल, हिमाली हर्बल चिया, सिलाजित, कर्णालीको सिमी, स्याउको चाना, ओखर, चिराइतोलगायत राखिने छ ।

प्रदर्शनी शुक्रबारदेखि काठमाडौँको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा हुनेछ । प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था छ । रासस